काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेलाई नसमेट्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको हो। गठबन्धनबीच भागबण्डा टुंग्याउन आजै फेरि बैठक बस्नेछ। यसअघि प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि समेट्ने गरी जानुपर्ने प्रस्ताव राखेका थिए।
सत्ता गठबन्धनमा ७ दल सहभागी भए पनि राष्ट्रियसभाको चुनावमा भने चार दलबीच गठबन्धन हुनेछ । चार दलमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ७ र एकीकृत समाजवादी र जसपाले ३-३ सदस्यमा दाबी पेस गरेका छन् । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले दलहरूले दाबी गरेको सङ्ख्याको वरिपरि रहेर सिट बाँडफाँट हुने बताए । पौडेलका अनुसार कांग्रेसले ९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादी र जसपाले २-२ सदस्य लिएर भागबन्डा मिलाउने आन्तरिक तयारी छ ।