१९ भाद्र २०८२, बिहीबार
Follow Us

चितवनमा यो वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि हुने अनुमान

नेपालब्रिटेन संवाददाता
५ माघ २०८०, शुक्रबार ०५:४८

चितवन । चितवनमा यो वर्ष तोरी उत्पादनमा उल्लेख्य बृद्धि हुने कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यहाँ तोरी खेतीमा कृषकहरु आकर्षित हुनुका साथै अनुकूल मौसम र क्षेत्रफल बढेसँगै उत्पादन बृद्धि भएको केन्द्रले जनाएको हो ।

अहिले बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अन्य प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरी खेतीतर्फ आकर्षित गरेको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी उमराज अर्यालले जानकारी दिए ।

अहिले धानखेती भन्दा बढी जमिनमा तोरी लगाउन थालिएको र क्षेत्रफल मात्रै होइन उत्पादकत्व समेत बढ्दै गएको छ । यो वर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर २ दशमलब ५ प्रतिशत बृद्धि रहेको छ ।

गत वर्ष उत्पादकत्व एक प्रतिशत रहेको थियो । यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढेको अर्यालको भनाइ छ । कम लगानी, छोटो बाली, बजारभाउ राम्रो र जङ्गली जनावरले क्षति नपुर्‍याउने भएकाले यस क्षेत्रका कृषकहरुको तोरी खेतीमा आकर्षण बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २१ हजार ८५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको र २८ हजार ४०५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

चितवनमा यो वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ ।

गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । जिल्लामा खैरहनी र माडी नगरपालिकामा धेरै तोरी खेती गरिँदै आएको छ । नेपालमा दुई लाख ६० हजार ३०७ हेक्टर क्षेत्रफलमा तेलहन बाली गरिँदै आएको छ ।

धेरै पढिएको