लण्डन । मंगलबार बेलायतको एम ६ मोटरवेमा भएको भीषण दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ। दुःखद घट्नामा दुई बालबालिकासहित पाँचजनाले ज्यान गुमाएका हुन्।
दुर्घटना दिउँसो करिब ४:०४ बजे कुम्ब्रिया क्षेत्रमा पर्ने टेबे सेवाहरू नजिकै दुई कार एकापसमा ठोक्किँदा भएको हो। कुम्ब्रिया प्रहरीले जानकारी दिए अनुसार, दुर्घटनामा स्कोडा र टोयोटा गाडी संलग्न थिए।
टोयोटा गाडीमा सवार चारजनाको घटनास्थलमै मृत्यु भएको थियो, जसमा एक पुरुष चालक, एक महिला र दुई बालबालिका रहेका थिए। ती सबैको ठेगाना ग्लासगो बताइएको छ। स्कोडा गाडीका चालक, जो क्याम्ब्रिजशायरका पुरुष थिए, उनको पनि घटनास्थलमै मृत्यु भएको हो।
स्कोडामा सवार अर्को एक बालकलाई गम्भीर चोटपटक लागेकोले न्युक्यासलस्थित रोयल भिक्टोरिया इन्फर्मरीमा भर्ना गरिएको छ।
दुर्घटनापछि अनुसन्धानका लागि एम ६ मोटरवेको एक खण्ड केही घण्टासम्म बन्द गरिएको थियो। उत्तरतर्फको सडक बिहान करिब ४:२० बजे पुनः खुलाइएको हो।
प्रहरीले दुर्घटनाबारे थप जानकारी दिन सक्ने प्रत्यक्षदर्शीहरू वा घटना कैद भएको फुटेज भएका व्यक्तिहरूसँग सम्पर्क गर्न अपील गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, दुर्घटना एउटा कार रङ वेमा प्रवेश गरेपछि भएको बताइएको छ।