काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एक विवादास्पद फेसबुक स्टाटसका कारण पुनः चर्चाको शिखरमा छन् । गएराति उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा अश्लील र आपत्तिजनक स्टाटसले जनमानसमा तीव्र असन्तुष्टि र आक्रोश पैदा गरेको छ ।
यद्यपि, पोस्ट गरेको केही समयमै उनले उक्त स्टाटस हटाएका थिए । मेयर साहको उक्त स्टाटसमा भारत, चीन र अमेरिकालगायतका देशहरूलाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरिएको थियो । यसका साथै नेपाली राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि सिधै नाम लिएर गाली गरिएको थियो । यो घटनाले उनको सार्वजनिक छविमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।
पछिल्लो समय मेयर साह नयाँ दल खोल्ने वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजनीतिमा सक्रिय हुने भन्ने दोधारमा रहेको चर्चा थियो । तर, उनले रास्वपाको समेत नामै किटेर अश्लील गाली गरेपछि उनी रास्वपासँग पनि टाढिएको अड्कलबाजी सुरु भएको छ । यो घटनाले उनको आगामी राजनीतिक यात्रामा कस्तो प्रभाव पार्ला भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
मेयर साहको यस कार्यको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । आम नागरिकदेखि लिएर विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले उनको मर्यादाहीन अभिव्यक्तिको भर्त्सना गरेका छन् । सामाजिक सञ्जालमा आएका केही प्रमुख प्रतिक्रियाहरू यस्ता छन्:
प्रोफेसर पत्रकारिताका तथा अनुसन्धानकर्ता भानुभक्त आचार्यले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बालेनको F***K स्टाटस त देखेको थिएँ उतिखेरै । तर, ‘के जितिलाई भन्दा देखिलाई लाज’ भन्ने सोचेर हालिनँ । बालेनलाई मनोसामाजिक परामर्शको खाँचो देखियो ।’
एमाले नेता महेश बस्नेतले तीन वर्षअघि बालेनको हैसियत र यथार्थबारे टिप्पणी गर्दा आफूलाई गाली गर्नेहरूले अहिले आएर ‘तपाईं ठीक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ’ भन्न थालेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता सत्तरुका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ । भने गरिनछ धेरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई धेरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई झुक्काउन सकिँदैन । बालेन शाहले अब जनता झुक्काउने दिन सकिएका छन् ।’
शिक्षामन्त्री महावीर पुनले घुमाउरो पारामा मेयर साहलाई व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘केहि केहि आशा लाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।’
युवा व्यवसायी रवीन पन्तले भनेका छन्, ‘हो यसै कारण उहिलेदेखि भन्दै आयेको थियो राजनैतिक संस्कार स्थापना, सुशासन, पुस्तान्तरण, लोकतान्त्रिक अभ्यास जस्तो थुप्रै मुद्दाहरू स्थापित गर्न राजनैतिक पार्टी भित्रै आन्दोलन गरौँ । आखिर हामीले के पायौँ ? बालेन को यो शब्द संयोजन ले उसको विकृत मानसिकता को स्पष्ट चित्र प्रस्तुत गर्दछ । बालेन को बुद्धि कत्तिको ध्वंसात्मक छ भनेर बुझ्न यो स्ट्याटस काफी छ ।’
नेकपा एमालेका नेता विष्णु रिजालले काठमाडौंका मेयर बालेन साह देशमाथि खतरा बनिरहेका बताएका छन् । ‘बालेन साहले हद नाघ्दै गएका छन् र देशमाथि खतरा बनिरहेका छन् । नेपालमा गाँजा प्रतिबन्धित छ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबार जलाउने मतियार बालेनलाई अविलम्ब गिरफ्तार गर्नुपर्छ । नत्र अराजकता र मुठभेड बढ्छ ।’
मेयर बालेन्द्र साहको यो पछिल्लो कार्यले सार्वजनिक जीवनमा रहेका व्यक्तिले अपनाउनुपर्ने न्यूनतम मर्यादा र संयमताको प्रश्न उठाएको छ । उनीमाथि जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार निर्माणमा अदृश्य शक्ति बनेर सक्रिय भएको आरोप लाग्दै आएको छ ।