१६ भाद्र २०८२, सोमबार
Follow Us

विशेष सम्पादकीय: नेपालब्रिटेन डट कमको १८ वर्षे यात्रा

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०८२, आईतवार २२:२०

आज नेपालब्रिटेन डट कमले आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदैछ। सन् २००७ मा लन्डनबाट सुरु भएको यो अनलाइन समाचार पोर्टलले नेपाली प्रवासी समुदायलाई जोड्ने, तिनका आवाजलाई मुख्यधारको सार्वजनिक बहसमा पुर्‍याउने र नेपाल-यूकेबीचको सम्बन्धलाई सुदृढ गर्न सक्दो प्रयास गरेको हाम्रा पाठक वर्ग लाई अवगत नै छ ।

सुरुवातमा थोरै पाठक, सीमित स्रोत र प्राविधिक चुनौतीबीच जन्मिएको नेपालब्रिटेन डट कम अहिले हजारौं पाठकले विश्वासका साथ पढ्ने प्लेटफर्म बनेको छ। समाचार, विचार, अन्तर्वार्ता, सांस्कृतिक रचनात्मकता तथा सामाजिक गतिविधिहरूको विस्तृत रिपोर्टिङमार्फत हामीले केवल समाचार माध्यम मात्र नभई प्रवासी नेपालीको सामुदायिक अभिलेखालयको रूपमा पनि आफूलाई स्थापित गर्ने प्रयास गरेका छौं ।

पछिल्ला १८ वर्षमा युकेस्थित प्रवासी नेपाली समाजले अनेकौं उतारचढाव देख्यो— गोर्खा आन्दोलनदेखि एनआरएनका बहस, शिक्षा-स्वास्थ्य र व्यवसायिक क्षेत्रमा प्रवासी नेपालीको सक्रियता, सांस्कृतिक विविधता र राजनीतिक संलग्नतासम्म। यी सबैलाई तथ्य, तर्क र जिम्मेवार पत्रकारिताका साथ प्रस्तुत गर्न नेपालब्रिटेन डट कम अग्रसर रह्यो। हाम्रो यो यात्रा आदरणीय पाठक वर्गको साथ, सहयोग र सुझाव विना सम्भव हुने थिएन ।

यात्रा यत्तिमै सीमित छैन। भविष्यमा अझै गहिरो अनुसन्धानात्मक पत्रकारिता, तथ्यमा आधारित विश्लेषण, मल्टिमिडिया सामग्री, र बेलायत मा हुर्कंदै गरेको युवा पुस्तालाई आकर्षित गर्न हामीले सक्दो प्रयास गर्नेछौं । डिजिटल पत्रकारिता निरन्तर विकसित हुँदैछ, कृत्रिम बुद्धिमत्ता र सामाजिक सञ्जालका प्रभावहरू बढ्दैछन्। यी सबैलाई जिम्मेवार तरिकाले आत्मसात गर्दै नेपालब्रिटेन डट कमले अझ सक्षम, विश्वसनीय र आकर्षक माध्यम बन्ने लक्ष्य राखेको छ।

गएको १८ वर्षमा हामीले थुप्रै उकाली ओराली पार गर्यौं । ताली र गाली दुवै पायौं । तर हाम्रा प्रिय पाठक, विज्ञापनदाता, शुभेच्छुक र समाजका अग्रजहरूको निरन्तर साथ र सहयोगले नै हामीलाई हरेक बाधा पार गर्न सक्षम बनायो। संचालक समितिले हामीप्रति सधैं विश्वास गरि नै रह्यो। त्यसैले, यस अवसरमा हामी सम्पूर्ण पाठक, विज्ञापनदाता, नेपाली संघसंस्था लगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं।

नेपालब्रिटेन डट कमको १८ वर्षको यात्राले प्रमाणित गरेको छ— जब विश्वास, पारदर्शिता र समुदायप्रतिको जिम्मेवारीलाई आधार बनाइन्छ, तब कुनै पनि सपना असम्भव हुँदैन। हामी भविष्यमा अझ ऊर्जाशील, सशक्त र जिम्मेवार पत्रकारिताको वाचा गर्दै अघि बढिरहेका छौं। विगतमा झैं आगामी दिनमा पनि हाम्रा पाठक वर्गको न्यानो माया र सुझाव सल्लाह पाउनेमा हामी विश्वस्त छौं। तपाईंहरुको विश्वास नै हाम्रो सम्पत्ति हो।

धेरै पढिएको