लण्डन । नेपालब्रिटेन डट कमले बेलायतस्थित नेपाली समुदायका १० जना व्यक्तिलाई वर्ष व्यक्तित्व को रूपमा घोषणा गरेको छ। आइतबार लण्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित १८औं वार्षिकोत्सवको अवसरमा उनीहरूलाई मिडिया पर्सनालिटी अफ द इयर २०२५ ले सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि, बेलायतका लागि नेपाली राजदूत चन्द्र घिमिरेले सम्मानपत्र र चिनो प्रदान गर्नुभएको थियो। सो अवसरमा बेलायतका विभिन्न क्षेत्रमा सक्रिय भई समुदायमा विशेष योगदान पुर्याउँदै आएका नेपाली व्यक्तित्वहरुलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ।
१. रुवी राउत
पाँचथरमा जन्मेकी रुवी राउतले बेलायतमा उत्पादन गरेको महिनावारीका बेला लगाउने पेन्टीले महिलालाई सुविधा र आत्मविश्वास दिएको छ। ‘वुका’ नामक यो ब्रान्ड विश्वका ४८ देशमा बिक्री भइरहेको छ र बेलायतमा पहिलो स्थानमा रहेको छ। रुवीले महिनावारी उत्पादनमा लाग्ने २० प्रतिशत भ्याट हटाउन बेलायती संसदमा चार पटक अभियान चलाइन् र अन्ततः सफल भइन्। उनी महिनावारीलाई नकारात्मक नराखी सकारात्मक सन्देश दिने उद्देश्यले आफ्नो उत्पादनको नाम ‘वुका’ अर्थात् ‘वेक अप किक एस’ नाम राखेकी छन्।
बेलायतमा उच्च शिक्षा अध्ययनका क्रममा रोजगारका चुनौती झेल्दै रुवीले आफ्नै श्रम र श्रीमानको सहयोगमा महिनावारी पेन्टीको डिजाइन र उत्पादन थालेकी थिइन्। पुनः प्रयोग गर्न मिल्ने, केमिकल–फ्री र वातावरणमैत्री यो पेन्टीले प्याड र टेम्पोनलाई प्रतिस्थापन गर्दै महिला स्वास्थ्यमा नयाँ क्रान्ति ल्याएको छ।
उनी हाल १६ जनाको टोलीसँग बेलायत, श्रीलंका र पाकिस्तानबाट आफ्नो उत्पादन विश्वभर वितरण गरिरहेकी छन्। ‘वुका’ ब्रान्डले १९ भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ, जसमा २०२२ को क्विन्स अवार्ड पनि प्रमुख छ। महिनावारीका पीडाबाट राहत दिने, वातावरण संरक्षणमा योगदान पुर्याउने र सामाजिक जागरणमा भूमिका खेलेकी रुवी राउत प्रवासमा सफल नेपाली महिला उद्यमीको उदाहरण बनेकी छिन्।
२. डा. बिशाल गुरुङ
नेपाली समुदायमा स्वास्थ्य र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय योगदान दिँदै आएका युवा चिकित्सक डा बिशाल गुरुङ एनआरएनए यूकेमा प्रमुख स्वास्थ्य संयोजकको रुपमा सक्रिय छन्। उनका नेतृत्वमा हरेक महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएका छन् जसले समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाएको छ। हरेक मंगलबार साँझ जुम मार्फत सार्वजनिक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका डा. गुरुङले नेपाली समुदायमा स्वास्थ्य चेतना फैलाउने महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
ग्रेटर रसमोर नेपाली समुदायमा पनि उनी सक्रिय उनले तमु धिँ यूकेमा महासचिवको जिम्मेवारी सम्हाल्दै सामाजिक एकता र सहकार्यमा योगदान पुर्याइरहेका छन्। उनले ‘रेज अफ होप फाउन्डेसन फर भिजन’ को माध्यमबाट नेपालमा मोतिबिन्दु शल्यक्रिया शिविरहरू सञ्चालन गर्दै आएका छन्। उनकै सक्रियतामा अहिलेसम्म ८,००० भन्दा बढी बिरामीको परीक्षण र ४२३ सफल शल्यक्रिया सम्पन्न भइसकेका छन्। डा. बिशाल गुरुङका यी प्रयासहरूले नेपाली समुदायमा स्वास्थ्य र सामाजिक जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
३. विकास नेपाल
नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिइरहेका विकास नेपाल बेलायत स्थित एक सुपरिचित व्यवसायी हुन् । सन् २०१८ देखि शुरु भएको नेपाल फुड्सले बेलायतसहित अष्ट्रेलिया, अमेरिका, जापान, क्यानडा र युरोप गरि २५ देशमा झण्डै तीनसय नेपाली उत्पादन आपूर्ति गर्दै आएको छ । लण्डनस्थित ‘नेपाल फुड्स’ को उत्पादन चिकन मःम र नेपाली बियरले हालै विश्वप्रसिद्ध ग्रेट टेस्ट २०२५ अवार्ड जितेको छ।
नेपाल फुड्सले गत वर्ष पनि नवौं एसियन फुड एण्ड रेष्टुरेन्ट अवार्डस इन्टरनेशनल २०२४ मा उत्कृष्ट नेपाली ब्रान्डको प्रतिष्ठित उपाधि प्राप्त गरेको थियो
ग्रेट टेस्ट अवार्ड गिल्ड अफ फाइन फूडले सञ्चालन गर्ने विश्वकै सबैभन्दा ठूलो, पुरानो र भरपर्दो खाद्य र पेय पदार्थको पुरस्कार हो । यसले उत्कृष्ट स्वाद तथा परिकारलाई पहिलो प्राथमिकता दिन्छ। सबै प्रतियोगितात्मक वस्तुहरूलाई ब्लाइन्ड टेस्ट अर्थात् बिना नाम वा प्याकेजिङमा परीक्षण गरिन्छ।
सन् २०२५ मा ५०० भन्दा बढी निर्णायकले ११० दिनसम्मको मूल्याङ्कन प्रक्रियामा सहभागी भएर १-स्टार, २-स्टार र ३-स्टार अवार्ड प्रदान गरेका थिए। ग्रेट टेस्ट अवार्डले पुरष्कृत उत्पादनलाई तीन वर्षसम्म मान्यता दिन्छ र त्यो अवार्ड सम्बन्धित उत्पादनमा मात्र प्रयोग गर्न पाइन्छ।
उक्त अवार्ड प्राप्त गरेपछि नेपाल फुड्सका प्रमुख कार्यकारी विकास नेपालले चिकन मःम र नेपाली बियरले ग्रेट टेस्ट अवार्ड प्राप्त गर्नु नेपाली मौलिक स्वाद विश्वसामु चिनाउने महत्त्वपूर्ण अवसर भएको बताए। आफ्नो व्यवसायसंगै विभिन्न सामाजिक कामलाई सघाउँदै आएका विकास संसार भरि नेपाली उत्पादन चिनाउन चाहन्छन् र नेपाली कृषक तथा साना उद्यमलाई सघाउन पनि। उनको हुटहुटीले उनी जस्तै अरु कैयौं युवालाई पनि सामाजिक उद्यममा लाग्न प्रेरित गरेको छ।
४. सुनिलबाबु खड्का
चितवनको बेलचोकको धुलोमाटोमा लड्दै, लमजुङको थातथलोबाट झरेको एक सामान्य परिवारको कान्छो सन्तानको रूपमा जन्मिएका सुनिलबाबु खड्काले बेलायतको वकिंगमा बसेर नेपाली समुदायका लागि एक प्रेरणादायी सामाजिक अभियन्ता र सफल उद्यमीको पहिचान बनाइसकेका छन्। २०३१ सालमा रामबहादुर खड्का र चिनीमाया खड्काको काखमा जन्मिएका खड्काको बाल्यकाल नारायणघाटको बेलचोकमा बित्यो। एसएलसी २०४६ सालमा उत्तीर्ण गरेपछि चितवनकै शिक्षण संस्थाबाट उच्च शिक्षामा पाइला टेके। युवाकालमा रेडक्रस, जेसीज, रेयुकाइजस्ता सामाजिक संस्थासँगको संलग्नताले उनको सामाजिक चेतना अझ सशक्त बनायो भने कम्प्युटरप्रतिको गहिरो रुचिले शिक्षण र उद्यमतर्फको बाटो देखायो।
उनी चितवनका पहिलो कम्प्युटर शिक्षकका रूपमा परिचित बने भने अक्सफोर्ड कम्प्युटर शिक्षालय र पछि ‘कलेज अफ सफ्टवेयर इन्जिनियरिङ’ स्थापना गरेर चितवनको शैक्षिक क्षेत्रमा योगदान पुर्याए। २४ वर्षको उमेरमा उनले आफ्नै कमाइको पैसाले घर निर्माण गरेपछि बेलायत जाने निर्णय गरे। बेलायतमा विभिन्न खाले कामहरु गरेर अनुभव संगले पछि हरू उनले आफैं व्यवसाय सुरु गर्ने निधो गरे । एक सफल रेस्टुरेन्ट व्यवसायी र उद्यमीको रूपमा आफ्नो परिचय बनेका सुनिलबाबुले व्यवसाय संगै चितवनमा रेडक्रस, नेत्रज्योति संघ, बालगृह, र विद्यालयहरूमा निरन्तर सहयोग पुर्याए। उनले बेलायतमा एनआरएन यूकेको सदस्यदेखि अध्यक्ष पदसम्मको जिम्मेवारी सम्हाल्दै गैरआवासीय नेपाली समाजलाई सशक्त बनाउने काम गरे। क्षत्री समाज, मानव सेवा आश्रमलगायत संस्थाहरूमा उनको सक्रिय सहभागिताले उनको सामाजिक प्रतिवद्धता झल्काउँछ। समर्पण, त्याग र सेवा भावना बोकेका भएका एक उदाहरणीय व्यक्तित्व हुन्— सुनील बाबु खड्का ।
५. दिवाकर पाण्डे
नेपाली समुदायमा लामो समयदेखि समर्पित समाजसेवी दिवाकर पाण्डे केवल नाम मात्र होइन, एउटा प्रेरणादायी व्यक्तित्व हुन्। बाल्यकालदेखि नै सामाजिक उत्तरदायित्वप्रति सचेत दिवाकरले कक्षा ८ मा पढ्दादेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै गाउँमा “समाजसेवी युवा क्लब” गठन गरेका थिए। यस क्लबमा संस्थापक कोषाध्यक्ष हुँदै अध्यक्षसम्मको भूमिकामा रहँदै उनले आफ्नै गाउँमा थुप्रै रचनात्मक काम गरे । बिद्यार्थी जीवनमै नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएका उनले “द पायनियर मावि” मा शिक्षक नायकको भूमिका निभाए। विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका दिवाकर सन् २०१० मा उच्च शिक्षा अध्ययनको लागि बेलायत आए। करिब एक दशकदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आवद्ध रहँदै उनले विभिन्न तहमा नेतृत्वदायी भूमिका निभाए। २०२३–२०२५ मा एनआरएनए स्कटल्यान्ड राज्यको अध्यक्ष पदमा निर्वाचित दिवाकरले नेपाली राजदूतावाससँग समन्वय गरी स्कटल्यान्डका तीन मुख्य सहरहरूमा घुम्ती सेवा प्रदान गरे। युवाहरुको सक्रियता बढाउन उनले स्कटल्यान्डस्तरीय फुटबल प्रतियोगिता आयोजना गरे। उनकै संयोजकत्वमा स्कटल्यान्डमा पहिलोपटक ऐतिहासिक नेपाली मेला आयोजना गरियो। श्री पशुपतिनाथ मन्दिर स्कटल्यान्डको सचिव, फाईफ नेपाली कम्युनिटीको सचिव र अन्य थुप्रै संघ संस्थामा सल्लाहकारको भूमिका निर्वाह गरेका दिवाकर पाण्डे नेपाली डायस्पोरामा एक सफल, कर्मशील र दूरदर्शी नेताको रुपमा चिनिन्छन्, जसले नयाँ पुस्तालाई समाजसेवातर्फ प्रेरित गर्न सक्ने दृष्टान्त पनि प्रस्तुत गरेका छन्।
६. महेश अधिकारी
कुन्छा, लमजुङमा जन्मिएका महेश अधिकारी एक समर्पित समाजसेवी तथा नेतृत्वकर्ता हुन्, जसले नेपाल र बेलायत दुबै स्थानमा उल्लेखनीय योगदान पुर्याएका छन्। नेपालमा रहँदा उनले सेभ द चिल्ड्रेन– अमेरिकामा कार्यक्रम संयोजकको रूपमा ६ वर्ष सेवा गरे र त्यस अवधिमा बाल अधिकार, शिक्षा तथा सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमहरूमा गहिरो संलग्नता जनाए। उनले नेपालमै वाणिज्य विषयमा स्नातक तहको अध्ययन पूरा गरे भने पछि अमेरिकास्थित फेयरफ्याक्स विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरे।
बेलायतमा बसोबास थालेपछि उनले पिटरबरो नेपाली समाजको अध्यक्षको रूपमा दुई कार्यकाल नेतृत्व सम्हालेका थिए। सो अवधिमा उनले समाजका विविध कार्यक्रमहरूमा समन्वय, सहयोग तथा सेवा प्रवाहको पहल गर्दै समाजलाई संस्थागत रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेले। उनकै नेतृत्वमा समाजले पिटरबरो काउन्सिलबाट वार्षिक १ पाउण्ड भाडामा ९९ वर्षको लिजमा भवन प्राप्त गर्न सफल भयो, जुन बेलायतस्थित नेपाली समाजमा पहिलो ऐतिहासिक उपलब्धि मानिन्छ। साझा नेपाली समाजको नेतृत्वमा रहँदा उनले मिडल्यान्ड क्षेत्रका नेपाली समुदायलाई एउटै संस्थागत संरचनामा आबद्ध गराउन उल्लेखनीय योगदान पुर्याए। हाल उनी साझा नेपाली समाज र पिटरबरो नेपाली समाज दुवै संस्थामा ट्रष्टी संयोजकका रूपमा कार्यरत छन्। साथै, नेपालका विद्यालयमा अध्ययनरत बालबालिकाको सहयोगका लागि स्थापित “किड्स एट स्कुल इन नेपाल” संस्थाका पनि ट्रष्टीको रूपमा आवद्ध छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा पनि उनको भूमिका उल्लेखनीय रहँदै आएको छ। उनले एनसीसी युकेको सल्लाहकार, आइसीसी सदस्य र यूरोप उपक्षेत्रीय संयोजकको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका छन्। नेपालमा भूकम्प, कोरोना महामारी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपहरू आइपर्दा उनले बेलायतको मिडल्यान्ड क्षेत्रबाट आर्थिक, भौतिक र मानवीय सहयोग संकलन तथा संयोजन गरी नेपालमा राहत तथा पुनःस्थापना अभियानमा उल्लेखनीय सेवा पुर्याएका छन्। उनको दीर्घकालीन समर्पण, नेतृत्व क्षमता र सेवाभाव भावी पुस्ताका लागि प्रेरणादायी बनेको छ।
७. पुरन गिरी
नेपाली डायस्पोरामा उदाएका अग्रणी उद्यमी, समाजसेवी र संगठनकर्ता पुरन चन्द्र गिरिले व्यावसायिक सफलता र सामाजिक योगदानबीचको सन्तुलनलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्दै आइरहेका छन्। अन्तरराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष गिरी बेलायतस्थित प्रतिष्ठित कार्यक्रमस्थल एम्पायर ब्याङ्क्वेटिङ हल र लगानी कम्पनी पीआरएन इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा क्रियाशील छन्।
पर्वत जिल्लामा जन्मिएका गिरि हाल युकेमा बसोबास गर्छन्। गिरिले बेलायतमा आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गर्दा सुरुवाती दिनहरू संघर्षपूर्ण रहेका थिए। तर, ती चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै उनले इम्पायर ब्याङ्क्वेटिङ हलको सफल सञ्चालन गरे, जुन आज विवाह, सम्मेलन र अन्य सामूहिक कार्यक्रमहरूका लागि चर्चित गन्तव्यस्थल बनेको छ। बेलायतको अल्डरशटमा जापानी, इन्डियन तथा नेपाली खानाका स्वाद समेटिएको सुशिमोटो रेस्टुरेन्ट पनि उनको अगुवाइमा सञ्चालनमा छ।
उनले संस्थापक अध्यक्ष रहेको अन्तरराष्ट्रिय पर्वत समाजले सांस्कृतिक कार्यक्रम, छात्रवृत्ति वितरण, विपद् पीडित सहयोग तथा नेपालमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको छ। कोरोना महामारीको समयमा ६४ लाख रुपैयाँभन्दा बढीको लगानीमा पर्बत जिल्लामा स्वास्थ्य सामग्री वितरण, एम्बुलेन्स तथा शव वहन गाडीको व्यवस्थापनमा समेत उनले नेतृत्व गरेका थिए। अहिले पर्वत जिल्ला अस्पतालमा ३५ लाख रुपैयाँ बराबरको अस्पताल सौन्दर्यकरण परियोजना उनको संयोजनमा सम्पन्न हुँदैछ। पर्वत समाज युके र शिव कल्चर एन्ड कम्युनिटी सेन्टर लगायत बेलायतका विभिन्न सामाजिक संस्थामा समेत उनी सक्रिय रूपमा आबद्ध छन्। मृदुभाषी र मिलनसार गिरी व्यक्तिगत सफलतामा मात्र सीमित नरही समुदायको दीगो विकासमा समर्पित छन्। उनको जीवन दर्शन समाजका अन्य सदस्यहरुका लागि पनि अनुकरणीय बनेको छ ।
८. डा. रक्षा थापा
स्वास्थ्य तथा सामाजिक विज्ञानमा बोर्नमाउथ विश्वविद्यालयबाट विद्यावारिधि गरेकी डा. रक्षा थापा लामो समयदेखि महिला सशक्तिकरण, मानसिक स्वास्थ्य, सिकाइमा समस्या भएका बालबालिका तथा अटिजम भएका व्यक्तिहरूको सेवा र अभिभावकत्वमा समर्पित रहँदै आएकी छिन्।
नेपालस्थित एक अनाथालयमा खाद्यान्न संकट परेको अवस्थामा डा. थापाको नेतृत्वमा एक महिनाको लागि सम्पूर्ण खाद्यान्न सामग्रीको व्यवस्था गरिएको थियो। त्यसैगरी, सि.इ.सि. अन्तर्गतका दुई नेपाली क्रिकेट खेलाडीहरूलाई शैक्षिक शुल्क, आवास र खानासहित पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ। हुम्लामा भएको भयावह आगलागीबाट घरबार गुमाएका १२ परिवारलाई समेत उनाकै पहलमा खाद्यान्न, ओछ्यान तथा विद्यालय सामग्री प्रदान गरिएको थियो।
युवापुस्तालाई खेलप्रतिको रुचिमा प्रेरित गर्न, डा. थापाले आफ्ना श्रीमानसंग मिलेर एक नेपाली क्रिकेट क्लबको स्थापना गरिन जहाँ हाल २३ जना नेपाली युवा सक्रिय रूपमा प्रशिक्षण प्राप्त गरिरहेका छन्।
नेपाली कला, भाषा र संस्कृतिको जगेर्ना गर्न डा. थापाले बेलायतमा विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना तथा व्यवस्थापनमा समेत अग्रणी भूमिकामा निर्वाह गर्दै आएकी छिन्।
भैसेपाटीस्थित एक अनाथालयमा वार्षिक सहयोग, बेलायतमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई अस्थायी आवास तथा आकस्मिक आर्थिक सहायता पनि उनको नियमित सेवाभाव अन्तर्गत पर्दछन्। आपत्कालीन अवस्थामा मृत्यु भएका नेपालीहरूको शव नेपाल पठाउन आवश्यक प्रक्रिया तथा खर्च व्यवस्थापनमा समेत उनले सहयोग पुर्याउँदै आएकी छिन्।
सामाजिक सेवासँगै स्लाउ नेपाली समाज, यती नेपाली एशोसिएसन युके, क्षेत्री समाज बेलायत लगायतका संस्थाहरूमा सक्रिय रहेकी डा. रक्षा थापा हालै गैरआवासीय नेपाली संघ युकेको उपाध्यक्ष मा निर्वाचित भएकी छन्।
एकेडेमिक उत्कृष्टता संगै व्यवसायमा पनि उत्कृष्टता र सामाजिक सेवामा उनको प्रतिबद्धताले धेरै युवालाई प्रेरित गरि रहेको छ।
९.रण बहादुर खाती क्षेत्री
बेलायतमा रहेर लामो समयदेखि सामाजिक सेवामा समर्पित रण बहादुर खाती क्षेत्रीको योगदान नेपाली प्रवासी समुदायमा अत्यन्तै प्रशंसनीय र प्रेरणादायी बनेको छ। सन् २००० मा युके आएका खाती क्षेत्रीले नेपाली समाज युकेको संस्थापक महासचिवको रूपमा आफ्नो यात्रा सुरु गरेका थिए। सोही संस्थाको अध्यक्ष भएर उनले बेलायतमा रहेका नेपालीहरूलाई संगठित गर्दै, यहाँको जीवनशैलीमा सहज ढंगले घुलमिल हुनुपर्ने नियम–कानून,वर्कपरमिट, आवासीय कागजात, घर किन्न आवश्यक पर्ने प्रक्रिया, तथा दैनिक जीवनका विभिन्न पक्षमा सरसल्लाह र सहयोग पुर्याउने कार्यमा विशेष भूमिका निर्वाह गरे ।
सन् २००४ पछि मिडल्याण्ड बसाइँ सरेपछि खाती क्षेत्रीले नटिङ्गम नेपाली समाज युकेको संस्थापक अध्यक्षको रूपमा नेतृत्व सम्हाले । मिडल्याण्ड क्षेत्रका विभिन्न सामाजिक संस्थाहरूको स्थापना र समन्वयनमा अग्रस्थानमा रहेका उनले साझा नेपाली समाज युकेको निर्माणमा पनि निर्णायक भूमिका निर्वाह गरेका थिए। गुल्मी जिल्ला समाज युकेको स्थापनाकालदेखि सक्रिय रहेका खाती क्षेत्री हाल ट्रस्टी सचिवको भूमिकामा छन् । उक्त समाजमार्फत उनले प्रत्येक वर्ष च्यारिटी कार्यक्रमको आयोजना गर्दै गुल्मीको तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रका लागि करोडौं रुपैयाँ सहयोग संकलनमा महत्वपूर्ण भूमिका खेलेका छन्। गुल्मी जिल्लामा आगलागी पीडितहरुका लागि मा उनकै पहलमा समाजले लाखौं रुपियाँ सहयोग संकलन गरेको थियो।
कोभिड–१९ को महामारीको समयमा गुल्मी जिल्लाका १२ वटै पालिकामा मास्क वितरणका लागि खाती क्षेत्रीले युकेबाट सक्रिय पहल गरेका थिए भने नेपालमा विनाशकारी भूकम्प गएको बेला उनकै नेतृत्वमा नटिङ्गम नेपाली समाजले रु १२ लाख संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको थियो। सन् २०२४ को नोभेम्बरमा उनकै संयोजनमा साझा नेपाली समाज युकेको तर्फबाट च्यारिटी डिनर कार्यक्रम आयोजना गरी संकलित करिब १० लाख रुपैयाँ पश्चिम नेपाल, जाजरकोटमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालय वा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय भएको छ। त्यस्तै, मदन परियार बचाऊँ अभियान र रमेश गिरी बचाऊँ अभियानको संयोजककोरुपमा उनले करिब १० लाख नेपाली रुपैयाँ सहयोग संकलन गरेका थिए । करिब १४–१५ वर्षको उमेरदेखि नै सामाजिक सेवामा लागेका रण बहादुर खाती क्षेत्री हालसम्म पनि निरन्तर सामाजिक सेवामा समर्पित छन् । उनको यो समर्पण भावनाले बेलायतमा रहेका नेपालीहरूको सामाजिक एकता र सेवाभावनालाई थप सशक्त बनाएको छ।
१०. सुश्री डा दिलिसा सिम्खडा
दिलिसा सिम्खडा बेलायतमा हुर्किदो दोस्रो पुस्ताकी उदयमान तारा हुन् । उनी बेलायतमा मानसिक स्वास्थ्य क्षेत्रको उच्च तहमा पुग्ने पहिलो पुस्ताकी नेपाली महिला हुन् । धादिङ स्थायी घर भई लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका दीपक सिम्खडा र रीता धमला सिम्खडाकी सुपुत्री, डा. दिलिसाले आफ्नो पेशागत जीवनमार्फत मानसिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएकी छन् ।
सुश्री सिम्खडाले सन् २०२५ मा रोयल कलेजबाट स्नातकोत्तर उपाधि प्राप्त गर्दै आफ्नो व्यावसायिक दक्षता अझ सुदृढ बनाएकी हुन् । सन् २०१३ देखि २०१९ सम्म उनले बाट्र्स तथा लन्डन चिकित्साशास्त्र तथा दन्तचिकित्सा विद्यालयबाट चिकित्साशास्त्र अध्ययन पूरा गरिन् । यस अवधिमा सन् २०१६–२०१७ मा उनले किङ्स कलेज लन्डनबाट मनोविज्ञान विषयमा विशेष स्नातक उपाधि प्राप्त गरिन् । दोस्रो पुस्ताका नेपालीहरुका लागि प्रेरणाको स्रोत बनेकी दिलासाले नेपालमा मानवसेवा आश्रम मार्फत परोपकारी काम गरिरहेकी छन् । उनको ग्राण्डी अस्पतालमा स्वयमसेवा गर्ने र नेपालमा जनस्वास्थ्य क्याम्प चलाउने उनको इच्छा छ ।