काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो ।
महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ । प्रतिवेदन आज प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन् ।
समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी छ । सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताइएको छ ।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि दश समूहले छलफल विमर्श गरेका थिए ।