काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले आगामी फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग कुराकानी गर्नेछिन् ।
यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको थियो । भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाएका थिए ।
दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेको छ ।