लण्डन । गैरआवासीय नेपाली संघभित्र विगत चार वर्षदेखि देखिएको किचलो अन्त्य हुन लागेको संघका नेताहरूले जनाएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले आइतवार कान्तिपुर टेलिभिजनको एक अन्तरवार्तामा संस्थाभित्र रहेको मतभेद अन्त्य गरेर सबै पक्षलाई समेटेर एकता हुन लागेको जानकारी दिएका छन्। उनले मे महिनाको अधिवेशनबाट निर्वाचित अध्यक्ष महेश श्रेष्ठसँग संस्थाभित्रको विवाद अन्त्य गर्नका लागि आन्तरिक सहमति भइसकेको बताए।
डा. केसीका अनुसार निर्वाचनमा उपविजेता हुनेहरूले समानान्तर गतिविधि सञ्चालन गरे र उनीहरूलाई नेपालका राजनीतिक दलहरूले संरक्षण दिएको कारण विवाद सुरु भएको हो। उनले परराष्ट्र मन्त्रालयको रोहवरमा केही दिनभित्रै एकताको प्रस्ताव सार्वजनिक हुनेमा विश्वास व्यक्त गरे।
त्यसैगरी अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले आइतवार स्वर्गीय हरिवल भण्डारीको सम्झनामा आयोजित एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देश जातीय, धार्मिक तथा अन्तर्राष्ट्रिय समुदायको रणभूमि बन्दै गएको अवस्थामा गैरआवासीय नेपालीहरू सचेत हुनुपर्ने बताए। उनले शान्त र समुन्नत नेपालको निर्माणमा विदेशमा रहेका नेपालीहरूको ठूलो भूमिका रहेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए। श्रेष्ठले संघभित्रको एकताको गृहकार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्र सुखद समाचार सुन्न सकिने विश्वास दिलाए।
श्रेष्ठले भने, “हामी एक भएर गयौं भने केही दिनभित्र एनआरएनए नागरिकताको समस्याको समाधान गर्छौं। अहिलेको नागरिकताको ऐनमा टेकेरनै मन्त्री परिषद्ले नियमावली बनाएर एनआरएनए नागरिकताको कार्यान्वयन गर्न सकिन्छ।”
यसैबीच संघको अध्यक्ष पदका लागि आकांक्षी मानिएका डा. हेमराज शर्माले समेत संस्थाभित्र एकताको पक्षमा सकारात्मक माहोल बनेको बताएका छन्। उनले भने, “धेरै नजिक पुगे पनि, अपेक्षा अनुसार हिजो अक्टोबर ११ गते ‘एनआरएनए डे’को अवसरमा एनआरएनएको एकताको घोषणा हुन सकेन। तर यसबाट निराश हुनु पर्ने छैन, किनभने वर्षौंदेखि फाटेका मनहरू जोडिन केही समय लाग्छ। विगतमा हतारमा गरिएका एकता प्रयासहरू कार्यान्वयन हुन नसकेका हामीले देखेका छौँ। त्यसैले अहिले बद्रीजी र महेशजीले प्रस्ताव गर्नुभएको रोडम्याप सबैका लागि ‘विन–विन’ हुने भएकाले, धैर्यका साथ आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा अनुरोध गर्दछु।”
डा. शर्माका अनुसार हाल प्रस्तावित एकताको रोडम्याप विभिन्न माध्यमबाट सार्वजनिक भइसकेको छ। उक्त प्रस्तावअनुसार महेशजीको समिति र बद्रीजीको दुबै समितिलाई निर्वाचित समिति मानेर १२औं महाधिवेशन दुबै समितिले मिलेर सम्पन्न गर्ने योजना रहेको छ। साथै, १०औं र ११औं महाधिवेशनका क्रममा बनेका अन्य समितिहरूलाई सम्मानपूर्वक दस्तावेजीकरण गर्ने र अदालतका मुद्दाहरू सबै पक्षले फिर्ता लिने प्रस्ताव पनि गरिएको छ।
संघका तीन प्रभावशाली व्यक्तित्व डा. बद्री केसी, महेश कुमार श्रेष्ठ र डा. हेमराज शर्माको एउटै मत रहेको छ — एनआरएनए एकता अब निकट भविष्यमै सम्भव हुने बताइएको छ ।