३ मंसिर २०८२, बुधबार
Follow Us

अमेरिकाबाट दसैं मनाउन आएका छोरा-बुहारीमाथि बुबाले हाने खुकुरी

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०८२, बिहीबार ०६:३८

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा अप्रिय घटना घटेको छ । सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक बुबाले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन् ।

घटनामा अमेरिकाबाट दसैं मनाउन काठमाडौं आइपुगेका छोरा र बुहारी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार, बिहान करिब ७:३० बजे ५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार, बुबा विष्णुले छोराले आफ्ना कुरा नसुनेको निहुँमा आवेशमा आएर यो कदम चालेको बुझिएको छ । खुकुरी प्रहारबाट छोरा रूबिसको पाखुरा र खुट्टामा गहिरो चोट लागेको छ भने बुहारी मनिताको औंलामा चोट पुगेको छ । घाइते दुवै जनाको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी भट्टराईले घटनालगत्तै प्रहरीले खुकुरी प्रहार गर्ने बुबा विष्णु उप्रेतीलाई नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । अमेरिकामा बसोबास गर्दै आएका रूबिस र मनिता दसैं मनाउन केही दिनअघि मात्रै काठमाडौं आएका थिए ।

धेरै पढिएको