काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आसन्न निर्वाचनलाई लक्षित गरी कुनै पनि आन्दोलन नगर्न सम्पूर्ण राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । सोमबार काठमाडौंका ट्रमा सेन्टर र शिक्षण अस्पतालमा उपचाररत जेन-जी आन्दोलनका घाइतेहरूसँगको भेटपछि उनले यस्तो अपिल गरेकी हुन् ।
शिक्षण अस्पताल महाराजगञ्जमा एक घाइतेको गम्भीर अवस्था देखेर भावुक बनेकी मन्त्री गौतमले निर्वाचन भाँड्ने नाममा गरिने आन्दोलनले मुलुकलाई थप क्षति पुर्याउने चेतावनी दिइन् । सरकार निर्वाचनमा केन्द्रित भइसकेकाले अब विरोधका कार्यक्रमहरू आवश्यक नरहेको उनको भनाइ थियो ।
घाइतेहरूसँगको कुराकानीमा अस्पतालभित्रका ‘कुरीति र बेथिति’ बारे जानकारी पाएको उल्लेख गर्दै मन्त्री गौतमले उनीहरूका सुझावका आधारमा स्वास्थ्य क्षेत्र सुधारमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले आफूले गर्ने हरेक काम पारदर्शी ढंगले जनतासामु प्रस्तुत गर्ने संकल्प पनि गरिन् । ‘बिरामीहरूको अवस्था हेर्दा मलाई धेरै गाह्रो भयो । म मुलुक आन्दोलनमा नजाओस् भन्न चाहन्छु,’ मन्त्री गौतमले भनिन्, ‘जो सरकारको विरोध गर्छन्, चुनाव भाँड्न खोज्छन्, त्यो नगरून् भनेर म सबैलाई अनुरोध गर्छु ।’
उनले जनआन्दोलनको मर्म कुरीति र बेथिति अन्त्य गर्ने रहेको बताउँदै त्यसका लागि आएका सकारात्मक सुझावहरूलाई ग्रहण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । मन्त्री गौतमले बिहानै सिनामंगलस्थित केएमसी अस्पतालमा रहेका जेन-जी आन्दोलनका घाइतेहरूको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । अस्पतालले उनीहरूको उपचारमा कुनै कमी नगरेको पाएको उनको भनाइ छ ।