२१ कार्तिक २०८२, शुक्रबार
Follow Us

प्रचण्डको नाम जोडेर पोखरामा रिसोर्ट जलाउने ५ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०८२, शुक्रबार ०६:१०

पोखरा । पोखराको वरपिपल रिसोर्टमा भएको तोडफोड र आगजनीको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनको नाममा भएको यस आपराधिक उपद्रवमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले गहिरो अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा २९ वर्षीय रुपक नेपाली, ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीया एलिसा गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले पक्राउ परेका व्यक्तिहरू जेन-जी आन्दोलनका वास्तविक अभियानकर्ता नभई आपराधिक उपद्रवमा संलग्न रहेको जानकारी दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट रुपक नेपालीले रिसोर्टमा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भ्रामक हल्ला फैलाएर भीडलाई उक्साएको र तोडफोड तथा आगजनी गराउन नेतृत्व गरेको खुलेको छ । नेपालीले पोखरा रंगशालामा युवाहरूलाई प्रशिक्षणसमेत दिने गरेको पाइएको छ ।

प्रहरीका अनुसार, रिसोर्ट लमजुङका जितु नामका व्यक्तिको स्वामित्वमा रहेको छ। पक्राउ परेकामध्ये खड्कबहादुर थापा पोखरा-१८ मै होटल व्यवसाय गर्दै आइरहेका छन् र उनी ‘केबीटी ट्राभल’ नामबाट सामाजिक सञ्जालमा सक्रिय छन् । यो घटनामा रिसोर्टमै काम गर्ने केही व्यक्तिहरू समेत आन्दोलनको दिन तोडफोड र आगजनीमा संलग्न रहेको पाइएको छ ।

धेरै पढिएको