काठमाडौं । गठन भएको दुई महिना नबित्दै सरकारले न्यूनतम अपेक्षा पूरा नगरेको भन्दै ‘जेन जी’ प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि दबाब बढाउन थालेका छन् । यद्यपि, सरकारले यसलाई ‘असन्तुष्टिका रूपमा नभई प्रभावकारी सरकारको चाहना’ का रूपमा लिएको बताएको छ ।
जेन जी प्रतिनिधिहरूले भदौ २३ गतेको आन्दोलनमा भएको दमन र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै आएका छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन जी प्रतिनिधिहरूसँग संवादमै रहेको र सरकार आन्दोलनको मर्म र भावनाविपरीत नजाने बताए । उनले भने, ‘यो सरकार नै जेन जी आन्दोलनको जगमा बनेको हो । त्यस कारण आन्दोलनको भावनाअनुसार काम गरिएन र जेन जीहरूले नै सरकारलाई खासै साथ दिएनन् भने हामीमाथि नै प्रश्न उठ्छ ।’
कार्की नेतृत्वको सरकार बन्दादेखि राजनीतिक संवादहरूमा सक्रिय रहेका सुदन गुरुङले बिहीबार फेसबुकमा एक वक्तव्य प्रकाशित गर्दै ‘गृहमन्त्री अर्याल जनताको विश्वास पूरा गर्न विफल भएका’ उल्लेख गरेका छन् । उनले गृहमन्त्रीलाई ‘काम गर्न नसके पद छाड्ने वाचा’ स्मरण गराउँदै ‘अब त्यो समय आएको’ बताएका छन् ।
गुरुङले ‘गृहमन्त्री अर्याल कुर्सीमै टाँसिएर बस्नु राष्ट्रप्रतिको अपमान भएको’ टिप्पणी गरेपछि कतिपयले यसलाई अर्यालमाथि राजीनामाको दबाब बढेका रूपमा अर्थ्याएका छन् । यद्यपि, जेन जी प्रतिनिधि भावना राउतले यसलाई ‘राजीनामाको माग नभई खबरदारीका रूपमा लिइनुपर्ने’ बताएकी छन् । उनले भनिन्, ‘विपक्षी नभएका बेलामा युवा जमातले नै त हो खबरदारी गर्ने ।’
यद्यपि उनले सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने बताएका छन् । उनले लेखेका छन्, ‘यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर, या सरकार ढलाउने खेल वा संविधानमाथि धावा।’