३० कार्तिक २०८२, आईतवार
Follow Us

प्रतिनिधिसभा निर्वाचन: उम्मेदवारी दर्ता ६ माघमा

नेपालब्रिटेन संवाददाता
३० कार्तिक २०८२, आईतवार २०:४७

काठमाडौँ । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम आइतबार प्रकाशित गरेको छ । प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको उम्मेदवारी मनोनयन, उम्मेदवारी फिर्ता, दाबी विरोधलगायत कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता ६ माघमा तोकिएको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेको अवधिमा उम्मेदवारको सूची प्रकाशित गरिनेछ । ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिने गरी बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारित छ । उजुरीमाथि जाँचबुझपछि ८ माघमा बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारीबाट नाम फिर्ता लिन ९ माघमा बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकिएको छ । सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिनेछ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम २० मंसिरबाट प्रारम्भ हुने आयोगले उल्लेख गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले २१–२३ मंसिरभित्र आयोगमा निवेदन दिनुपर्नेछ । २४ मंसिरमा दलहरूको नामावली प्रकाशित गरिनेछ । १३ र १४ पुसमा बिहान १० देखि ४ बजेसम्म दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्छ । नाम सच्याउने, दाबी विरोध, नाम फिर्तालगायत प्रक्रिया पूरा गरेपछि २० माघमा समानुपातिकतर्फको अन्तिम बन्दसूची प्रकाशित गरिनेछ ।

त्यस्तै, २० फागुनमा रिक्त हुने राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा मतदान तोकिएको छ । आयोगले त्यसको निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ । १९ पुसमा मतदाता नामावली प्रकाशित गरिनेछ । मतदातामाथिको दाबी विरोध र उजुरीको छानबिन गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ । २३ पुसमा बिहान १० बजदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

धेरै पढिएको