नेपाली दूतावास लन्डनमा ‘नेपाल इभिनिङ, मन्त्री पौडेल र सांसद झा सहभागी
लन्डन । नेपालको पर्यटन सम्भावना, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा विशेष ‘नेपाल इभिनिङ’ कार्यक्रम सम्पन्न भएको छ।
बेलायतका लागि नेपाली राजदूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीको आयोजनामा बुधबार साँझ सम्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। विश्वकै प्रतिष्ठित पर्यटन व्यापार मेला वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) लन्डनमा सहभागी हुन बेलायत आएका मन्त्री पौडेलको उपस्थितिले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको थियो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेपाल–बेलायत संसदीय समूहका अध्यक्ष मनीष झाको समेत विशेष उपस्थिति रहेको थियो। यसका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधि, पर्यटन तथा ट्रेकिङ व्यवसायी, सञ्चारकर्मी, समाजसेवी, विभिन्न व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाललाई विश्व पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताए। नेपालको अनुपम प्राकृतिक सम्पदा, हिमाल, पहाड, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, साहसिक गतिविधि तथा मौलिक जीवनशैली अन्तर्राष्ट्रिय पर्यटकका लागि प्रमुख आकर्षण रहेको उल्लेख गर्दै उनले यस्ता सम्भावनालाई विश्व बजारसम्म पुर्याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको धारणा राखे।
उनले विशेषगरी बेलायतजस्तो सम्भावनायुक्त पर्यटन बजारमा नेपालको पहिचान, पर्यटन उत्पादन र गन्तव्यहरूको प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको औँल्याउँदै निजी क्षेत्र, पर्यटन व्यवसायी, कूटनीतिक नियोग तथा सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको सन्देश दिएका थिए।
कार्यक्रमको महत्त्वपूर्ण पक्षका रूपमा नेपाल र बेलायतका ३३ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीका प्रतिनिधिहरूबीच प्रत्यक्ष अन्तरक्रिया तथा व्यावसायिक छलफल आयोजना गरिएको थियो। छलफलमा बेलायती पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने रणनीति, नेपालको पर्यटन बजारमा नयाँ सम्भावनाको खोजी, पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय बजारीकरण, ट्रेकिङ तथा साहसिक पर्यटनको विस्तार र दुई देशबीच व्यावसायिक साझेदारीका अवसरबारे विस्तृत विचार आदानप्रदान गरिएको थियो।
विशेषगरी नेपालका पर्यटन व्यवसायी र बेलायतका ट्राभल अपरेटरबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने, पर्यटक आदानप्रदानलाई सहज बनाउने तथा नेपाल भ्रमणका नयाँ प्याकेज र पर्यटन उत्पादन विकास गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो। सहभागीहरूले नेपाललाई केवल हिमाल आरोहण र पदयात्राको गन्तव्यका रूपमा मात्र नभई संस्कृति, सम्पदा, आध्यात्मिकता, वन्यजन्तु, ग्रामीण पर्यटन र विविध अनुभवको संगमका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
यस किसिमको प्रत्यक्ष भेटघाट र अन्तरक्रियाले नेपालका पर्यटन व्यवसायीलाई बेलायती बजारको आवश्यकता, पर्यटकको रुचि तथा व्यावसायिक अपेक्षा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। साथै, बेलायतका पर्यटन व्यवसायीका लागि नेपालमा नयाँ साझेदार खोज्ने र पर्यटन व्यवसाय विस्तार गर्ने अवसरसमेत सिर्जना भएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको सञ्चालन लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव सञ्जोग राईले गरेका थिए। औपचारिक कार्यक्रमसँगै आयोजना गरिएको नेटवर्किङ रिसेप्सनमा सहभागीहरूले आपसी परिचय, अनुभव आदानप्रदान तथा सम्भावित व्यावसायिक सहकार्यका विषयमा छलफल गरेका थिए।
नेटवर्किङका क्रममा नेपाल र बेलायतबीच पर्यटन क्षेत्रको विद्यमान सम्बन्धलाई थप उचाइमा पुर्याउन निजी क्षेत्रको सक्रिय सहभागिता, नियमित व्यावसायिक संवाद, प्रभावकारी प्रचारप्रसार र दीर्घकालीन साझेदारी आवश्यक रहेकोमा जोड दिइएको थियो।
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने अभियानमा बेलायत महत्त्वपूर्ण स्रोत बजारका रूपमा रहेको छ। यस्तो अवस्थामा नेपाली दूतावासको पहलमा आयोजित ‘नेपाल इभिनिङ’ ले कूटनीतिक सम्बन्धलाई आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोड्दै नेपालको पर्यटन प्रवर्द्धनका लागि नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।
समग्रमा, ‘नेपाल इभिनिङ’ केवल औपचारिक भेटघाट र स्वागत समारोहमा सीमित नरही नेपाल र बेलायतका पर्यटन व्यवसायीलाई एउटै मञ्चमा ल्याउने, व्यावसायिक सम्बन्ध विस्तार गर्ने, नयाँ साझेदारीको सम्भावना पहिचान गर्ने र नेपालको पर्यटनलाई बेलायती बजारमा थप स्थापित गर्ने उद्देश्य बोकेको महत्त्वपूर्ण पहलका रूपमा देखिएको छ। यसले नेपाललाई विश्व पर्यटनको प्रतिस्पर्धी गन्तव्यका रूपमा चिनाउने अभियानमा कूटनीतिक नियोग, सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

यसैबीच, नेपाली दूतावास, लण्डनको परिसरमा भगवान् गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा बुद्ध फाउन्डेसन यूकेको सक्रियतामा उक्त मूर्ति स्थापना गरिएको हो।
मूर्ति स्थापना कार्यक्रममा पण्डित निलहरि घिमिरेले स्वस्ति वाचन गर्नुभएको थियो। कार्यक्रममा मन्त्री पौडेल, सांसद झा, कार्यवाहक राजदूत विपिन दुवाडीसहित दीपक श्रेष्ठ, प्रसुना कँडेल, सचिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।






