जेनजी अगुवा मिराज ढुङ्गानासहित केही युवाहरूको समूहलाई प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने उद्देश्यसहित मंगलबार सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको छ।
देशको प्रमुख प्रशासनिक केन्द्र रहेको सिंहदरबार परिसरमा प्रवेश गर्न खोजेको समूहलाई सुरक्षाकर्मीले परिसरबाट हटाएको हो। यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ नगरी निषेधित क्षेत्रबाट बाहिर राखिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराई भने, ‘सिंहदरबार परिसर स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र हो। निषेधित क्षेत्रमा पाँच वा पाँचभन्दा बढी व्यक्ति भेला भएर नाराबाजी, विरोध वा प्रदर्शन गर्न पाइँदैन।’
जेनजी मिराजसहित अन्य व्यक्तिलाई हटाएको विषयमा उनले भने, ‘हामीले कुनै पनि व्यक्ति वा नाम कसैलाई चिन्दैनौँ। देशको प्रशासनिक केन्द्र सिंहदरबारलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको छ। त्यहाँ भित्र कुनै पनि व्यक्ति प्रवेश गर्नका लागि सिंहदरबारभित्रको प्रवेश पास (व्यवस्थापन) को आधारमा मात्रै सम्भव हुन्छ। यदि अतिरिक्त संख्यामा धेरै व्यक्तिहरू कुनै प्रदर्शनको लागि आउनुहुन्छ भने हामी उहाँहरूलाई नजानका लागि अनुरोध गर्छौं।’