काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । नेपालबाट अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ ।
यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७ औं बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।
सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानी प्रक्रिया बढाउने र जेभीए छिटो टुंग्याउने सहसति समेत भएको छ । नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढरठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्मका प्रसारण लाइनमार्फत विद्युत् निर्यात अध्ययन गर्ने सहमति समेत बैठकमा भएको छ ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीपत्रमा आ–आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ । उक्त सम्झौता अन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता प्रदान गर्ने सहमति जुटेको छ ।
नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा त्यसपछि नेपाली पक्षका लागि क्षमता अभिवृद्धि कार्यक्रम बंगलादेशमा सञ्चालन गर्ने सहमति भएको हो ।