काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक रुझान सार्वजनिक भएको छ । विद्युतीय मेसिनमार्फत भएको मतदानको पहिलो बुथको गणना सकिँदा अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले अग्रता लिएका छन् ।
बिहीबार बिहान १० बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार, २ सय २३ मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी ईश्वर पोखरेलले ६७ मत प्राप्त गरे । सुरुवाती नतिजाले ओलीलाई बलियो अग्रता दिलाएको देखिएको छ ।
त्यस्तै, निकै चासोका साथ हेरिएको महासचिव पदमा भने कडा प्रतिस्पर्धा देखिएको छ । सुरुवाती २२३ मतमध्ये शंकर पोखरेलले ११५ मत प्राप्त गर्दा सुरेन्द्र पाण्डेले १०८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।
उपाध्यक्षमा पौडेल र गुरुङको वर्चस्व : उपाध्यक्ष पदका उम्मेदवारहरूमध्ये विष्णु प्रसाद पौडेल १७३ मतका साथ सबैभन्दा अगाडि देखिएका छन् । उनलाई पृथ्वी सुब्बा गुरुङले १७१ मतका साथ पछ्याइरहेका छन् । अन्य उम्मेदवारहरूमा रामबहादुर थापा ‘बादल’ (१५३), गोकर्ण विष्ट (१३३) र रघु जी पन्त (१२३) अग्रपङ्क्तिमा रहँदा भीम आचार्य (२७) र अरुण नेपाल (३८) पछि परेका छन् ।
उपमहासचिव र सचिवमा तीव्र प्रतिस्पर्धा : उपमहासचिवमा लेखराज भट्ट १४७ मतका साथ अग्रस्थानमा छन् भने योगेश भट्टराई १४० मतसहित दोस्रो स्थानमा रहँदा रघुवीर महासेठले १२६ र विष्णु रिमालले १०५ मत प्राप्त गरेका छन् ।
सचिव पदमा महिला उम्मेदवार पद्मा कुमारी अर्याल १५२ मतका साथ शीर्ष स्थानमा देखिएकी छन् । महेश बस्नेत (१५०), छविलाल विश्वकर्मा (१४५), शेरधन राई (१४१) र हिक्मत कार्की (१३८) ले पनि बलियो मत प्राप्त गरे । सचिवका अन्य उम्मेदवारहरू खगराज अधिकारी (१३२) र राजन भट्टराई (११३) पनि प्रतिस्पर्धामा छन् ।