३ पुष २०८२, बिहीबार
Follow Us

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

नेपालब्रिटेन संवाददाता
३ पुष २०८२, बिहीबार ०५:५५

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन् । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनी नागरिकताबाट वञ्चित हुनुभएको बारेमा उजागर भएको थियो ।

सो समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो समयको प्रयासपछि कार्यपालिकाबाटै निर्णय गराएर नागरिकता दिलाउन सफल भएको हो । नाम र जन्म स्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिनुहुन्छ । उनले नागरिकता प्राप्त गर्नुभएसँगै पहिलोपटक रु आठ हजार वृद्धभत्तासमेत प्राप्त गरेको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

लामो समयदेखि भकुण्डेमा बस्दै आउनुभएका उनी बोल्न नसक्ने र परिवारसमेत सम्पर्कमा नआएका कारण अहिलेसम्म पहिचानविहीन भएका थिए । नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित थिए ।

नगरपालिकाको कार्यापालिकाले निर्णय गरेपछि संरक्षक राखेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । ‘सानै उमेरमा बागलुङ नगरपालिका-१० स्थित भकुण्डे आउनुभएको तर बोल्न नसक्ने भएकाले उहाँलाई धान्द्रुके बाजे भनेर गाउँलेले बोलाउने गरेको, अहिले नरमाया थापाको घरमा बस्दै आएकाले उहाँकै संरक्षकत्वमा नागरिकता लिनुभयो,’ खड्काले भने ।

धेरै पढिएको