११ माघ २०८२, आईतवार
Follow Us

फागुन २१ को चुनावपछि नेपालको प्रधानमन्त्री गगन थापा हुन् : सहमहामन्त्री रसाईली

नेपालब्रिटेन संवाददाता
११ माघ २०८२, आईतवार ०६:०३

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईलीले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् । सहमहामन्त्री रसाईलीले कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट साधारण र सुविधाजनक बहुमत हासिल गर्ने दाबी गरेका हुन् ।

उनले कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउँदै आन्तरिक समीकरणलाई मिलाउन पार्टीभित्रका समूहलाई सम्बोधन गरिएको बताए । अहिलेको परिस्थितिमा देशलाई सम्हाल्ने र अन्य राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्न सक्ने व्यक्ति गगन थापा नै रहेको जिकिर गरे । उनले आफूहरूले कांग्रेस बदलेको र अब देश बदल्ने गरी अघि बढिरहेको पनि बताए । सहमहामन्त्री रसाईलीले आफूहरूले युवा पलायन रोक्न देशमै रोजगारी सिर्जना गर्ने र सुशासन कायम गरेर अघि बढ्ने बताए । फागुन २१ गतेपछिको नेपालको प्रधानमन्त्री गगन थापा नै भएको बताए ।

उनले भने, ‘हाम्रो पार्टीको यसअघि बसेको केन्द्रीय समितिको बैठकले एउटा मुद्दा निर्धारण गरेको छ । हाम्रो पार्टीका नेता गगनकुमार थापा र श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवा अहिले हामी सबै पार्टीका नेताहरू देशभर एक ठाउँमा छौँ । हामीले पार्टीको आन्तरिक समीकरणलाई मिलाउनका निम्ति सबै पार्टीभित्रका समूहलाई सम्बोधन गरेका छौँ । नेपाली कांग्रेसका नेताहरूले शालीनतापूर्वक देशलाई कांग्रेसले सम्हाल्नुपर्छ , मुठभेडको राजनीतिबाट सम्हाल्ने राजनीतिमा लगेर आजको स्थितिमा देश पुगेको छ ।’

उनले निर्वाचनलाई बलियो बनाइ रुख चिह्नलाई बलियो बनाउने गरी आफूहरू अघि बढिरहेको दाबी गरे । निर्वाचन टिकटमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहका नेताहरू सबैले न्याय पाएको उनको तर्क छ ।

धेरै पढिएको