विश्व प्रविधि उद्योगमा एप्पलले पुनः एकपटक आफ्नो आर्थिक क्षमता, बजार प्रभाव तथा वर्चस्व प्रमाणित गर्दै किर्तिमानी आम्दानी गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एप्पलले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको ३ महिनामा करिब १ खर्ब ४४ अर्ब अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ ।
कुनै पनि त्रैमासिमा एप्पलले गरेको यो हालसम्मकै किर्तिमानी आम्दानी हो । साथै यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६८ प्रतिशतले वृद्धि भएको हो । विश्लेषकहरुका अनुसार यो नतिजा एप्पलको उत्पादन रणनीति, मूल्य निर्धारण क्षमता र विश्वव्यापी बजार पहुँचको संयुक्त परिणाम हो ।
यस त्रैमासिक अवधिमा एप्पलले ४२ अर्ब १० करोड खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो मुनाफा १५.९७ प्रतिशतले बढी हो । योसँगै एप्पलको प्रति सेयर आम्दानी २.८४ डलरमा पुगेको छ । विश्लेषकले यस अवधिमा एप्पलको प्रतिशेयर आम्दानी २.६८ डलर हुने प्रक्षेपण गरेका थिए ।