प्रयोजनविपरीत अवैध गतिविधिमा संलग्नलाई अध्यागमनले निगरानी र कडाइ गर्दै जरिवानासहित निष्कासन गर्न थालेको छ ।
काठमाडौँ — पर्यटक र व्यावसायिक भिसामा भित्रिएर गैरकानुनी गतिविधि गरेको आरोपमा पछिल्लो ६ महिनामा ३ सय ३३ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
एउटा प्रयोजनमा भिसा लिएर नेपालको कानुनले वर्जित गरेका अन्य गतिविधि गरेको आरोपमा अध्यागमन विभागले उनीहरुलाई नियन्त्रणमा लिएकामा जरिवाना असुल गरी तोकिएको अवधिसम्म पुनः नेपाल आउन नपाउने गरी निस्कासन गरेको हो ।
साउन २०८२ देखि पुस मसान्तसम्म ६ महिनामा पक्राउ परेका विदेशी नागरिकहरूमा ‘म्यारिज ब्युरो’ खोलेर रकम असुल गरी नेपालबाट महिलालाई चीन पठाउनेदेखि क्रिस्चिन धर्म प्रचारप्रसारमा संलग्नसम्मका व्यक्ति रहेको विभागले जनाएको छ । सन् २०२५ को एक वर्षमा निस्कासन गरिएका विदेशी नागरिकको संख्या ५ सय १ थियो ।