२३ माघ २०८२, शुक्रबार
Follow Us

सुरक्षित सडक यातायातको विषय घोषणापत्रमा समावेश गर्न राजनीतिक दलहरुलाई आग्रह

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८२, शुक्रबार २१:४७

काठमाडौँ – बैतडीमा बस दुर्घटना हुँदा जन्ती गएका १३ जनाको निधन भएको खबर आइ रहंदा सडक सुरक्षाको क्षेत्रमा लामो समय देखि पैरवी गर्दै आएका संस्था तथा अभियन्ताहरुले नेपालका प्रमुख राजनीतिक दलहरुलाई सुरक्षित सडक यातायातको विषय घोषणापत्रमा समावेश गर्न आग्रह गरेका छन्। सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक पूर्वाधार, सवारी साधनको गुणस्तर, सवारीचालक अनुमतिपत्र, सडक प्रयोगकर्ता शिक्षा र दुर्घटनापश्चातको स्याहार जस्ता ६ वटक उपशीर्षकमा सुझावका २७ बुँदाहरू समेटिएका छन्। सरकारले मुख्य सरोकारवाला मन्त्रालयहरूको र प्रदेश सरकारहरूको समन्वयमा यी विषयहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सकेमा हाल देशभरका सडकहरूमा भइरहेका दैनिक दुइ दर्जन हताहतिलाई उल्लेख्य परिमाणले घटाउन सकिने उनीहरूको अपेक्षा रहेको छ। उनीहरुले निकट भविष्यमा भइरहेको निर्वाचनमा सहभागी सबै दलहरूले यस राष्ट्रिय समस्यालाई आफ्ना घोषणापत्रमा समेट्न सके निर्वाचनपछि गठन हुने सरकारलाइ उक्त सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न सजिलो हुने र यस समस्याको दीगो समाधानको प्रकृया थालनी हुने अपेक्षा पनि गरेका छन्।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी–नेपाल तथा स्वतन्त्रता अभियान नेपालसँगको सहकार्यमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्ता प्रमुख राजनीतिक पार्टीलाई सो सुझाव पत्र पेश गरेको हो । त्यसैगरी उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जस्ता राजनीतिक पार्टीहरूलाई समेत विश्वभर रहेका नेपाली विज्ञ तथा पेशागत समुदायको तर्फबाट समेत सो सुझाव प्रस्तुत गरिएको हो ।
समृद्ध, सभ्य र आधुनिक नेपाल निर्माणमा भयरहित यात्राको अधिकार, स्वाथ्यको अधिकार, सुरक्षित, व्यवस्थित र नियमित सार्वजनिक यातायात, युएनका अभिसन्धीहरू, अड्किरहेका ऐन, नियम र कार्यक्रमहरू, रोड सेफ्टी एक्ट, रोड सेफ्टी काउन्सिल तथा इन्टरनेशनल ड्राइभिङ परमिट जस्ता महत्वपूर्ण विषयहरूलाई सो सुझाव पत्रमा समावेश गरिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता देव राज चालिसे, रास्वपाका उपसभापति डि.पि. अर्याल, नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा (बादल) लगायतले सो सुझाव पत्र बुझ्दै ती विषयहरू आधुनिक र समृद्ध नेपाल निर्माणका लागि महत्वपूर्ण भएकाले आ आफ्नो पार्टीको घोषणा पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

धेरै पढिएको