११ फाल्गुन २०८२, सोमबार
Follow Us

धादिङ बस दुर्घटनामा मृतकको संख्या २० पुग्यो

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०८२, सोमबार ०५:४०

काठमाडौं । धादिङको बेनिघाट रोराङ्गमा गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा गम्भीर घाइते भएका एक पुरुषको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या थपिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतकको ठेगाना स्याङ्जा रहेको खुलेको छ । गएराति करिब एक बजेतिर बेनिघाट रोराङ्ग गाउँपालिका-५, भैंसेगौडा भन्ने स्थानबाट ग२ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस त्रिशूली नदी किनारमा खसेको थियो । बसमा सवार ४४ जनामध्ये १७ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका २७ जनालाई उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा पठाइएको छ । अचेत अवस्थामा फेला परेका घाइतेहरुलाई तत्काल मलेखु र जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्‍याफ्टिङ व्यवसायी उद्धारमा जुटेका थिए । रातिको समय र भौगोलिक विकटताका कारण उद्धार कार्य निकै सास्तीपूर्ण बनेको थियो । सडकबाट निकै तल खसेको बस नदी किनारको ढुंगामा बजारिएकाले पूर्णरुपमा क्षतविक्षत अवस्थामा छ ।

उद्धारकर्मीहरुले घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्‍याएका थिए । त्यहाँबाट सडकमा उकालेर एम्बुलेन्स मार्फत अस्पताल पठाइएको थियो । रातिको समय र अप्ठेरो ठाउँ भएकाले उद्धार सामग्रीको अभाव खड्किएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘प्रहरीले टर्च बालेर घाइतेहरुको खोजी र उद्धार गरे,’ घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै उनले भने, ‘हामीलाई उद्धार सामग्रीको अभाव महसुस भयो ।’

धेरै पढिएको