सुर्खेत । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् । बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।
आइतबार बिहान सुर्खेतमा आयोजित एक समारोहका बीच रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
प्रदेश महामन्त्री र प्रदेश राजधानी समेत रहेको सुर्खेत जिल्लाका कार्यवाहक सभापति नै पार्टीबाट बाहिरिएपछि रास्वपाको कर्णाली संगठनमा ठूलो रिक्तता र हलचल पैदा भएको छ । बिक र बस्नेतसँगै रास्वपाका दर्जनौँ सक्रिय नेता तथा कार्यकर्ताहरूले पनि ‘घण्टी’ छाडेर ‘रुख’ चिह्न रोजेका छन् ।
नवप्रवेशीहरूलाई स्वागत गर्दै उपसभापति शर्माले मुलुकको लोकतान्त्रिक आन्दोलन र विकासका लागि कांग्रेसको विकल्प नरहेको भन्दै युवा र अनुभवी नेतृत्वको आगमनले पार्टीलाई थप उर्जावान बनाउने विश्वास व्यक्त गरे । निर्वाचनको सम्मुखमा भएको यो राजनीतिक ध्रुवीकरणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।