काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि सानदार जित निकालेको छ।
आइतबार जनकपुरमा रामजानकी रंगशालामा भएको खेलमा सुदूरपश्चिमले १६३ रनले जित हासिल गरेको हो। २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमै अलआउट भयो।
बागमतीको ब्याटिङ ध्वस्त भयो। शुभ कंशकारले ३२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। आषुतोष घिरैया, पवन थापा, इशान पाण्डे, सन्दीप लामिछानेले खाता समेत खोल्न सकेनन् भने सचिन लेखक, विवेक मगर र रिजन ढकालले एक रनमात्रै बनाए।
बागमतीको इनिङ्स ध्वस्त पार्न सुदूरपश्चिमका हेमन्त धामी एक्लैले सात विकेट लिए। ६ ओभर बलिङ गरेका उनले २ मेडेनसहित १४ रनमात्रै दिए।
यस्तै, शेर मल्लले तीन विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ४२.१ ओभरमा २०९ रनमा अलआउट भयो। उसका लागि नारायण जोशीले ७५, दीपक बोहराले ४०, अभिषेक पलले ३९ तथा अशोक धामीले अविजित १७ रन जोडे।
बलिङतर्फ बागमतीका सन्दीप लामिछाने र प्रतिश जिसीले चार–चार विकेट लिए भने सोनु देवकोटा र रिजन ढकालले एक–एक विकेट लिएका छन्।