२० चैत्र २०८२, शुक्रबार
Follow Us

अबुधाबी: क्षेप्यास्त्रको भग्नावशेष अज्बान क्षेत्रमा खस्दा ६ नेपालीसहित १२ जना घाइते

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८२, शुक्रबार १९:४२

अबुधाबीमा क्षेप्यास्त्र तथा मानव रहित हवाई सवारी (ड्रोन) अवरोध गर्ने क्रममा खसेको भग्नावशेषका कारण १२ जना घाइते भएका छन्। उक्त घटना शुक्रबार अबुधाबीको अज्बान क्षेत्रमा भएको हो।

अबुधाबी मिडिया कार्यालयका अनुसार घाइतेमध्ये ६ जना नेपाली र ५ जना भारतीय नागरिक रहेका छन्। उनीहरूलाई सामान्यदेखि मध्यम खालका चोट लागेको छ भने एक नेपाली नागरिक गम्भीर रूपमा घाइते भएका छन्।

यो घटना हवाई सुरक्षा प्रणालीले आक्रमणकारी क्षेप्यास्त्र र ड्रोनहरू सफलतापूर्वक अवरोध गरेपछि तिनका भग्नावशेष विभिन्न क्षेत्रमा खस्दा भएको हो। घटनाबारे थप मूल्याङ्कन भइरहेको जनाइएको छ।

अबुधाबीका अधिकारीहरूले आपतकालीन उद्धार टोलीले तत्काल प्रभावित क्षेत्र सुरक्षित बनाउँदै घाइतेहरूलाई चिकित्सकीय सहायता उपलब्ध गराएको बताएका छन्।

यसअघि रक्षा मन्त्रालयले पनि यूएईको हवाई सुरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई निष्क्रिय पारेको पुष्टि गरेको थियो। केही क्षेत्रमा सुनिएको ठूलो आवाज चलिरहेको सुरक्षा कारबाहीसँग सम्बन्धित रहेको बताइएको छ।

धेरै पढिएको