४ माघ २०८२, आईतवार
Follow Us

अस्ट्रेलियासंग तीन शुन्य गोलले पराजित

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७८, शनिबार ०७:४४

काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३ शुन्य गोल अन्तरले पराजित भएको छ। कुवेतको ‘जबर अल–अहमद अन्तराष्ट्रिय रंगशाला’ मा १० खेलाडीमा सिमित नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलियाबीच भएको खेलमा नेपालले राम्रो डिफेन्डिङ गरेको थियो ।

पहिलो हाफको छैटौं मिनेटमै अस्ट्रेलियाले खेलमा अग्रता लिएको थियो। ‘फुल ब्याक’ अजीज बेहिचको क्रसमा कप्तान म्याथ्यु लेकीले हेडर गोल गर्दा अस्ट्रेलियाले खेलमा अग्रता लिन सफल भएको थियो।

त्यसपछि पहिलो हाफको अधिकांश समय राम्रो डिफेन्डिङको नमुना प्रस्तुत गरेको नेपालले खेलको ३८औं मिनेटमा दोस्रो गोल खायो । कप्तान लेकीको पासमा डिफेन्डर फ्रान काराचिचले गोल गर्दै अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाएका थिए।

त्यसतै खेलको ४५औं मिनेटमा नेपालका प्रमुख डिफेन्डर रोहित चन्दले अस्ट्रेलियाका स्ट्राइकर मार्टिन बोइललाई फल गर्दा ओमानका रेफ्रीले रोहितलाई सोझै रातो कार्ड देखाए।

१० खेलाडीमा सिमित नेपाली टोलीलाई बलियो टोली अस्ट्रेलियाविरुद्ध दोस्रो हाफको खेल निकै चुनौतीपूर्ण रहने निश्चित थियो। तर १० खेलाडीमा सिमित रहँदा पनि नेपालले अस्ट्रेलियाविरुद्ध दोस्रो हाफमा राम्रो डिफेन्डिङ गर्यो।

यद्यपि खेलको ५७औं मिनेटमा अष्ट्रेलियाका स्ट्राइकर मार्टिन डोइलले अस्ट्रेलियाको अग्रतालाई तेब्बर बनाए। उनले ज्याक्सन इरविनको पासमा गोल गर्दा अस्ट्रेलियाले खेलमा ३ शुन्य गोलको अग्रता लिएको हो।

खेलको अधिकांश समय अस्ट्रेलियाको टोलीले बल पोजिसनमा कब्जा जमाउन सफल भयो। लगभग ७० प्रतिशत पोजिसन आफ्नो पक्षमा पारेको अस्ट्रेलियाले खेलमा कुल २८ शट प्रहार गर्यो। कप्तान किरण चेम्जोङले खेलमा उत्कृष्ट बचाउहरु गरे। अस्ट्रेलियाले १२ शट अन टार्गेटमा प्रहार गर्दा किरणले ९ पटक सफल बचाउ गरेका थिए।

नेपालका लागि खेलको ६१औं मिनेटमा मैदान प्रवेश गरेका मनिष डाँगीले केही अवसरहरु सिर्जना गर्ने प्रयास गरे। तर विश्व वरियतामा ४१औं स्थानमा रहेको अस्ट्रेलियाको अगाडि नेपालले फलदायी अवसर बनाउन सकेन। नेपालका लागि आयुष घलान, सुरज जिउ ठकुरी र कमल थापाले डेब्यू गरे। खेलको ९०औं मिनेटमा नेपालका युवा खेलाडीहरुले डेब्यू गर्ने मौका पाएका हुन्।

एसियाली पावर हाउस अस्ट्रेलियाविरुद्ध नेपालले पहिलो लेगमा ५ शुन्य गोल अन्तरको हार बेहोरेको थियो। आजको खेलमा भने नेपालले राम्रो खेल खेलेको भन्न मिल्ने खेल समिक्षकहरु बताउँछन ।

धेरै पढिएको