७ जेष्ठ २०८३, बिहीबार
Follow Us

सभामुखबाटै संसदको मर्यादा उलंघन भइरहेको छ: काँग्रेस

नेपालब्रिटेन संवाददाता
७ जेष्ठ २०८३, बिहीबार ०७:२५

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राईले उक्त आरोप लगाएका हुन् ।

उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरूले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे । सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाइनेतर्फ समेत ध्यानाकर्षण गराए ।

उनले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जबाफदेही बनाउन प्लेकार्ड लिएर उभिँदा श्रम संस्कृति पार्टीका सांसदहरू कसरी मर्यादित भए पनि प्रश्न समेत गरे ।

सचेतक राईले भने ‘पछिल्लो केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतले म स्वयम र अन्य माननीयज्यूहरू उठेर सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ ।’

सचेतक राईले सरकारले संसद मर्यादा विपरीत काम गरिरहेको जिकिर पनि गरे ।

धेरै पढिएको