२० असार २०८३, शनिबार
Follow Us

चिनियाँ राजदुतका चार बुँदे प्रस्ताव

नेपालब्रिटेन संवाददाता
२० असार २०८३, शनिबार ०६:२०

काठमाडौं । नेपालका लागि चीनका राजदुत झ्याङ माओमिङले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सारेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को १०५ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित एक विशेष विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले चार वटा प्रस्ताव अघि सारेका हुन् ।

राजदुत माओमिङले नेपाल–चीन सम्बन्धको भविष्यका सन्दर्भमा बोल्दै दुई देशका राजनीतिक दलहरूबीच गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणका असल अभ्यासहरू साटासाट गर्नुपर्ने बताए ।

नेपालको विकास रणनीतिसँग बीआरआईलाई जोड्दै ‘ट्रान्स–हिमालयन मल्टि–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ को निर्माणलाई तीव्रता दिने बताए । संयुक्त राष्ट्र संघ र साङ्घाई सहयोग संगठन जस्ता मञ्चहरूमा समन्वय गर्दै राष्ट्रपति सी जिनपिङद्वारा प्रस्तावित ग्लोवल डेभलपमेन्ट, ग्लोवल सेक्युरिटी, ग्लोवल सिभिलाइजेसन र ग्लोवल गभर्नेन्स इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

उनले युवा पुस्ताबीच भ्रमण र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरी नेपाल–चीन मैत्री सम्बन्धलाई पुस्तान्तरण गर्नुपर्ने पनि बताए ।

पार्टीको सफलता र विशेषताबारे चर्चा गर्दै राजदुतले सीपीसी विश्वकै ठूलो सत्तारुढ दल भएको र यसमा १० करोड १२ लाखभन्दा बढी सदस्य र ५४ लाखभन्दा बढी पार्टी संगठनहरू रहेको जानकारी दिए । उनकाअनुसार सीपीसीका ६ वटा विशिष्ट गुणहरूमा सत्यको खोजी, जनतासँगको गहिरो सम्बन्ध, ऐतिहासिक जिम्मेवारी वोध, विकासको प्रवृत्ति पछ्याउने क्षमता, सङ्घर्ष गर्ने शाहस र आत्म–सुदृढीकरणको प्रतिबद्धता रहेको बताए ।

पार्टी निर्माण र सुशासनका सम्बन्धमा नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी सी चिनफिङ विचारधारा’ को व्याख्या गर्दै राजदुतले १४ वटा मुख्य सिद्धान्तमध्ये पाँच बुँदामा विशेष जोड दिए ।

जसमा पार्टीको केन्द्रीकृत नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र आत्म–सुधार (भ्रष्टाचार नियन्त्रण) रहेका छन् । सन् २०२२ मा मात्रै भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत १० लाखभन्दा बढी मुद्दा दर्ता गरी करिब ९ लाख ८३ हजार व्यक्तिलाई अनुशासनको कारबाही गरिएको उनले बताए ।

विश्वमा देखा परेका विभिन्न सुरक्षा चुनौतीहरूका बीच चीनले नेपालका सबै राजनीतिक दलहरूसँग मिलेर साझा भविष्य निर्माण गर्न, विश्व शान्ति प्रवर्धन गर्न र मानव प्रगतिको यात्रामा योगदान पु¥याउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

धेरै पढिएको