२८ आश्विन २०८३, बुधबार
Follow Us

मेसीको अर्को ऐतिहासिक कीर्तिमान, मियामीमा पूरा गरे सय गोल

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०८३, बिहीबार ०५:३९

लियोनल मेसीले इन्टर मियामीका लागि अर्को ऐतिहासिक उपलब्धि हात पारेका छन । क्याम्पेओनेस कपको उपाधि जित्ने क्रममा मेसीले क्लबका लागि आफ्नो १०० औँ गोल समेत पूरा गरेका छन् ।

आज (बिहिबार) बिहान सम्पन्न फाइनलमा इन्टर मियामीले क्रुज अजुललाई २–० ले पराजित गर्दै क्याम्पेओनेस कपको उपाधि हात पारेको हो । जितसँगै मियामीको ट्रफी संग्रहमा अर्को महत्वपूर्ण उपाधि थपिएको छ।

खेलको २४औँ मिनेटमा मेसीले लुइस सुआरेजको क्रसमा हेडमार्फत गोल गर्दै इन्टर मियामीका लागि आफ्नो १००औँ गोल पूरा गरे। क्लबमा आबद्ध भएको करिब तीन वर्षमा उनले ११५ खेलबाट यो उपलब्धि हासिल गरेका हुन् । संयोगवश, मेसीले इन्टर मियामीका लागि पहिलो गोल पनि क्रुज अजुलविरुद्धकै खेलमा गरेका थिए ।

जुलाई २०२३ मा भएको डेब्यु खेलमा उनले इन्जुरी टाइममा फ्रिकिकमार्फत गोल गर्दै मियामीलाई २–१ को जित दिलाएका थिए । दोस्रो हाफमा क्रुज अजुलले खेलमा फर्किने प्रयास गरे पनि मियामीले आफ्नो अग्रता कायम राख्यो । खेलको ८१औँ मिनेटमा मेसीकै कर्नरबाट आएको बलमा कासेमिरोले हेडमार्फत गोल गर्दै मियामीको अग्रता २–० बनाए ।

त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि इन्टर मियामीले क्याम्पेओनेस कपको उपाधि आफ्नो नाममा गर्‍यो। मेसीको आगमनपछि इन्टर मियामीले लगातार महत्वपूर्ण उपाधि जित्दै आएको छ। क्लबले २०२३ मा लिग्स कप, २०२४ मा एमएलएस सपोर्टर्स’ शिल्ड र २०२५ मा एमएलएस कप जितेको थियो । अब क्याम्पेओनेस कप पनि क्लबको ट्रफी क्याबिनेटमा थपिएको छ।

क्याम्पेओनेस कपमा मेजर लिग सकर (MLS) का च्याम्पियन र मेक्सिकोको लिगा एमएक्सका च्याम्पियनबीच एक खेल हुने गर्छ। २०२६ को संस्करण इन्टर मियामीले पहिलोपटक खेलेको थियो ।

१००औँ गोलसँगै मेसी इन्टर मियामीका लागि यो संख्यामा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सेप्टेम्बर १३ मा नासभिलविरुद्ध गोल गर्दै उनी ९९ गोलमा पुगेका थिए। सोही खेलसँगै एमएलएसको जारी सिजनमा उनको गोल संख्या १९ पुगेको थियो ।

धेरै पढिएको