काठमाडौँ । गायक तथा कलाकार अशोक दर्जीले आफ्नो वर्तमान अवस्था र जीवन संघर्षबारे सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्। उनले आफू अहिले पनि संघर्षरत रहेको उल्लेख गर्दै जीवनमा धेरै उतारचढाव भोगेको बताएका छन्।
फेसबुकमा लामो स्ट्याटस लेख्दै दर्जीले जीवनमा हार, जित र अनेक चुनौती सामना गरेको उल्लेख गरेका छन्। उनले आफू सडकबाट उठेको व्यक्ति भएकाले संघर्ष अझै जारी रहेको बताउँदै आत्मबलका साथ अगाडि बढिरहेको बताएका छन्।
‘आज मसँग न पैसा छ, न बैंक ब्यालेन्स छ। धन्य, एउटा घर छ, जुन हजुरहरूकै सहयोगबाट बनेको हो,’ उनले लेखेका छन्। साथै, कसैले उपलब्ध गराएको अधिया जग्गा र भगवान्प्रतिको विश्वासले आफूलाई अगाडि बढ्न प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन्।
दर्जीले सानै उमेरदेखि गरिबी र अभावसँग जुध्दै आएको स्मरण गर्दै गरिब परिवारमा जन्मनु आफ्नो गल्ती नभएको बताएका छन्। उनले परिवारको जिम्मेवारी बहन गर्नुपर्ने, भाइबहिनीको पालनपोषण गर्नुपर्ने र आगामी दिनको खर्च व्यवस्थापनबारे चिन्ता रहेको पनि व्यक्त गरेका छन्।
दसैँ–तिहार नजिकिँदै गर्दा खर्च कसरी जुटाउने भन्ने चिन्तासमेत रहेको उल्लेख गर्दै उनले पढ्ने उमेरमै आर्थिक आवश्यकताले आफूलाई कामतर्फ केन्द्रित हुन बाध्य बनाएको बताएका छन्।
आफ्नो आगामी सांगीतिक यात्रा र नयाँ गीतमार्फत पुनः दर्शकमाझ आउने तयारी गरिरहेको जानकारी दिँदै उनले दर्शक तथा शुभेच्छुकसँग निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्। उनले आफूलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने गुरु, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
दर्जीले आफ्नो जीवनमा कसैलाई दोष दिन नखोजेको स्पष्ट पार्दै जानी–नजानी भएका गल्तीका लागि क्षमा मागेका छन्। उनले अब आफ्नो जीवनलाई सही दिशामा अगाडि बढाउने संकल्प गरेको उल्लेख गर्दै आफूले गर्ने कामलाई माया र समर्थन गरिदिन सबैसँग आग्रह गरेका छन्।
‘मेरो लाइफमा पनि कुनै दिन केही राम्रो होला भन्ने आशा छ,’ उनले लेखेका छन्।
उनको र टंक बुढाथोकीको विवाद पछिल्लो समय चर्चामा आएको थियो । त्यही कुरालाई सम्झिँदै अशोकले सामाजिक सञ्जालमा आफ्नो भावना पोखेका छन् ।