२० आश्विन २०८३, मंगलवार
Follow Us

बेलायत जनसम्पर्क समितिको छैटौं महाधिवेशनको तयारीमा युवराज गुरुङ

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०८३, मंगलवार २०:४६

लण्डन । नेपाली कांग्रेसको बेलायतस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको छैटौं महाधिवेशन आगामी नोभेम्बर २१ तारिख शनिबार आयोजना हुने भएको छ। समितिका सभापति युवराज गुरुङका अनुसार महाधिवेशनको तयारीलाई तीव्र पारिएको छ।

फेलथाममा आयोजना हुने महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति गुरुङले जानकारी दिएका छन्। महाधिवेशनमा बेलायतमा रहेका नेपाली कांग्रेसका समर्थक, शुभेच्छुक तथा समितिसँग आबद्ध प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सभापति गुरुङका अनुसार महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी अघि बढाइएको छ। प्रतिनिधि व्यवस्थापन, संगठन विस्तार तथा अधिवेशनसँग सम्बन्धित अन्य प्रक्रियालाई प्राथमिकतामा राखेर तयारी भइरहेको उनले बताएका छन्।

यसैबीच, सभापति गुरुङले काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनको प्रक्रियाप्रति असहमति जनाउँदै आएका छन्। उनले पार्टीभित्र देखिएको विवाद र विशेषगरी कांग्रेस सभापति शेरबहादुर देउवामाथि भएको भनिएको अन्यायका विषयमा आवाज उठाउँदै आएको बताएका छन्।

गुरुङले देउवा पक्षप्रति आफ्नो समर्थन स्पष्ट गर्दै बेलायतमा हुने जनसम्पर्क समितिको महाधिवेशनमार्फत पनि पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ। उनका अनुसार पार्टीको आन्तरिक लोकतन्त्र, विधि र संगठनको भूमिकालाई बलियो बनाउन आवश्यक रहेकोमा जोड दिइनेछ।

नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमसँगै बेलायतस्थित जनसम्पर्क समितिको महाधिवेशनलाई पनि चासोका साथ हेरिएको छ। विशेषगरी कांग्रेसको केन्द्रीय महाधिवेशनसँग जोडिएका विवाद र विभिन्न समूहबीचको मतभेदको प्रभाव प्रवासस्थित संगठनहरूमा समेत देखिन थालेको छ।

देउवा समूहको महाधिवेशन मंसिरमा हुने तयारी भइरहेका बेला बेलायत जनसम्पर्क समितिको छैटौं महाधिवेशन पनि सोही राजनीतिक पृष्ठभूमिमा हुन लागेको हो। महाधिवेशनले समितिको आगामी नेतृत्व चयनसँगै बेलायतमा नेपाली कांग्रेसको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने विषयमा समेत महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

सभापति गुरुङले महाधिवेशनमा बेलायतमा रहेका नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताको व्यापक सहभागिता रहने र संगठनलाई थप सुदृढ बनाउने विषयलाई प्राथमिकता दिइने बताएका छन्।

धेरै पढिएको