गैरआवासीय नेपाली संघको ११७ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकका निर्णय
गैरआवासीय नेपाली संघको ११७औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठक ३–४ अक्टोबर २०२६ मा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गर्नुभएको बैठकमा विश्वभरबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, सदस्य, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद्का आमन्त्रित अध्यक्षहरूको सहभागिता रहेको थियो।
बैठकको पहिलो दिन पछिल्ला तीन महिनामा भएका संस्थागत, आर्थिक तथा विभागीय प्रगतिको विवरण प्रस्तुत गरी समीक्षा गरिएको थियो। बैठकको फेसबुकमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो। दोस्रो दिन विभिन्न संस्थागत विषयमा विस्तृत छलफलपछि विभिन्न निर्णय गरिएको छ।
रसुवा र नुवाकोटलगायतका क्षेत्रमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हालसम्म भएका कार्यको समीक्षा गर्दै बैठकले तत्कालका लागि राहत वितरणको कार्य स्थगन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा केन्द्रित हुने निर्णय गरेको छ। नेपाल सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका प्राथमिकता र कार्ययोजनाका सम्बन्धमा केही हप्ताभित्र आवश्यक निर्णय गर्ने तथा राष्ट्रिय समन्वय परिषद्हरूले सङ्कलन गरेको रकम अन्तर्राष्ट्रिय समन्वय परिषद्मार्फत पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरिएको छ। स्वास्थ्य तथा शिक्षा सम्बन्धी परियोजनालाई प्राथमिकतामा राखेर छनोट गर्ने निर्णय गरिएको छ।
बैठकले आगामी महत्वपूर्ण कार्यक्रमहरूको मिति पनि अनुमोदन गरेको छ। गैरआवासीय नेपाली दिवस ११ अक्टोबर २०२६ मा नेपाल तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूमा आयोजना हुनेछ। रसुवा पुनरुत्थान तथा उत्थानशीलता पहल–२०२६ सम्बन्धी वेबिनार १२ अक्टोबर २०२६ मा अनलाइन आयोजना हुनेछ। राष्ट्रिय समन्वय परिषद्को क्षमता अभिवृद्धिसम्बन्धी तीनदिने आवासीय तालिम २८–३० अक्टोबर २०२६ मा गोदावरी, ललितपुरमा आयोजना हुनेछ। छैटौँ विश्व स्वास्थ्य सम्मेलन ४–५ डिसेम्बर २०२६ मा जनकपुर, मधेश प्रदेशमा, नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ११–१२ डिसेम्बर २०२६ मा दोहा, कतारमा तथा दशौँ ओसियाना क्षेत्रीय सम्मेलन १९–२० डिसेम्बर २०२६ मा न्युजिल्यान्डमा आयोजना हुनेछ। चौथो ज्ञान सम्मेलन २–४ जनवरी २०२७ मा काठमाडौंमा, पहिलो गैरआवासीय नेपाली दोस्रो पुस्ता युवा सम्मेलन ३ जनवरी २०२७ मा काठमाडौंमा, पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन ४ जनवरी २०२७ मा काठमाडौंमा तथा वार्षिक साधारण सभा ६ जनवरी २०२७ मा मिश्रित प्रणालीमा आयोजना गर्ने मिति अनुमोदन गरिएको छ। दशौँ अमेरिकाज क्षेत्रीय सम्मेलन २४–२५ अप्रिल २०२७ मा टोरन्टो, क्यानाडामा आयोजना हुनेछ।
२०२६ डिसेम्बर २ देखि १३ सम्म सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघको सहभागिता जनाउने निर्णय गरिएको छ। विदेशमा रहेका इच्छुक नेपाली खेलाडीबाट सहभागिताका लागि आवेदन माग गरी आवश्यक प्रक्रियाअनुसार खेलाडी छनोट गर्ने निर्णयसमेत बैठकले गरेको छ।
१७औँ युरोप क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक राष्ट्र आयरल्याण्ड र युरोप क्षेत्रीय समिति तथा ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक राष्ट्र चीन र एसिया–प्रशान्त क्षेत्रीय समितिलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ। दुवै सम्मेलनको आर्थिक प्रतिवेदन सम्बन्धित क्षेत्रीय समितिले एक साताभित्र अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पठाउनुपर्ने निर्णय गरिएको छ। सम्मेलनबाट बचत भएको रकम अन्तर्राष्ट्रिय समन्वय परिषद्मा पठाउन अनुरोध गर्ने र उक्त रकम बाढीपीडितको पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरिएको छ।
सदस्यता शुल्क नबुझाएका राष्ट्रिय समन्वय परिषद्हरूका लागि २०२७–२०२९ को सदस्यता दर्ता प्रणाली नखोल्ने निर्णय गरिएको छ। शुल्क नबुझाएका राष्ट्रिय समन्वय परिषद्हरूको नाम तथा बुझाउन बाँकी रकम सार्वजनिक गर्ने र सम्बन्धित राष्ट्रिय समन्वय परिषद्का पञ्जीकृत सदस्यलाई समेत सदस्यता शुल्क नबुझाएको जानकारी गराउने निर्णय गरिएको छ। अबदेखि सदस्यता लिँदा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बुझाउनुपर्ने शुल्क अनलाइनमार्फत सिधै भुक्तानी गर्ने व्यवस्था गर्ने निर्णय गरिएको छ।
मनोनयन शुल्क तथा सदस्यता शुल्क नबुझाएका अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यलाई उक्त शुल्क बुझाउन १० दिनको समय दिने निर्णय गरिएको छ। उक्त अवधिभित्र शुल्क नबुझाउनेको नामावली सार्वजनिक गर्ने तथा सम्बन्धित राष्ट्रिय समन्वय परिषद्लाई जानकारी दिने निर्णय गरिएको छ। शुल्क नबुझाउनेको पद विधानअनुसार रिक्त रहने निर्णय गरिएको छ। राष्ट्रिय समन्वय परिषद्को एकताका लागि योगदान गर्दै आफ्नो पद छाडेर अन्तर्राष्ट्रिय समन्वय परिषद्को पद ग्रहण गरेका पदाधिकारीको मनोनयन शुल्क मिनाहा गर्ने निर्णय गरिएको छ। दोस्रो पुस्ताका अध्ययनरत सदस्यको हकमा अनुरोधका आधारमा सदस्यता शुल्क ५० प्रतिशत गर्ने निर्णय गरिएको छ।
नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपाली संघको भवन भोगचलन गरेबापत संघलाई प्राप्त हुनुपर्ने भाडा रकम हालसम्म भुक्तानी नगरेको विषयमा बैठकले आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। भाडा रकम भुक्तानीका लागि संघले पटक–पटक ताकेता तथा अनुरोध गर्दै आए पनि हालसम्म भुक्तानी नभएको अवस्थामा उक्त रकम असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो।
बैठकले गैरआवासीय नेपाली संघ फाउन्डेसन नवीकरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
अधिकांश राष्ट्रिय समन्वय परिषद्मा एकीकरणको प्रक्रिया सम्पन्न भइसके पनि केही राष्ट्रिय समन्वय परिषद्मा एकीकरण हुन बाँकी रहेको सन्दर्भमा बाँकी रहेका राष्ट्रिय समन्वय परिषद्को अवस्थाबारे एकताका लागि जिम्मेवारी दिइएका उपमहासचिवबाट प्रतिवेदन प्राप्त गर्ने निर्णय गरिएको छ। उनीहरू तथा सम्बन्धित क्षेत्रीय संयोजकसँग आवश्यक परामर्श गरी सोही आधारमा अध्यक्ष र महासचिवले आवश्यक निर्णय गर्ने बैठकले जनाएको छ।
बैठकले रोमानियाको नवगठित समितिलाई अनुमोदन गर्ने तथा माल्टाको हालको समितिलाई कायम राख्ने निर्णय गरेको छ।
सदस्यता दर्ता प्रणाली खोल्दा अनुहार प्रमाणीकरण अनिवार्य गर्ने तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई बुझाउनुपर्ने शुल्क अनलाइनमार्फत सिधै सचिवालयमा भुक्तानी गर्ने व्यवस्था गर्ने निर्णय गरिएको छ।
बैठकले डिजिटल मेडिसिनको संयोजकमा उपमहासचिव दीपक गौतमलाई अनुमोदन गरेको छ। वैदेशिक रोजगार परामर्श समितिको अध्यक्षमा उपमहासचिव दीपक ओली तथा स्मार्ट गैरआवासीय नेपाली संघको संयोजकमा उपमहासचिव डा. नवराज रोस्यारालाई अनुमोदन गरिएको छ। गैरआवासीय नेपाली विश्वव्यापी नेपाली डायस्पोरा एकीकरण समितिको संयोजकमा उपमहासचिव कृष्ण पोखरेल तथा गैरआवासीय नेपाली कानुनी तथा प्रशासनिक सल्लाहकार केन्द्रको संयोजकमा उपमहासचिव विनोद कार्कीलाई अनुमोदन गरिएको छ। स्कुल विभागको संयोजकमा उपमहासचिव प्रकाश धमलालाई अनुमोदन गर्ने निर्णय गरिएको छ।
आफ्नो पदबाट अलग रहने इच्छा व्यक्त गरेका उपाध्यक्ष कमलमणि गुरागाईं, उपमहासचिव गोविन्द गौतम, उपकोषाध्यक्ष विमल सुवेदी, युरोपका उपक्षेत्रीय संयोजक कमलराज शर्मा, एसिया–प्रशान्तका उपक्षेत्रीय संयोजक सुदेश झा, डेनमार्कका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य मनिषा सिंह कोइराला, बेल्जियमका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य आभा मल्ल तथा आइसल्यान्डका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य ओमराज पौडेलको सम्बन्धमा प्राप्त प्रस्ताव अनुमोदन गर्दै उहाँहरूलाई सम्बन्धित पदबाट अलग गर्ने निर्णय गरिएको छ।
संघको निर्वाचन सम्बन्धी नियमावली–२०२१ को दफा ७ बमोजिम कुनै राजनीतिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पदमा बहाल रहेको भए सम्बन्धित व्यक्तिले उक्त पदबाट राजीनामा दिई सोको प्रमाणसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई जानकारी गराउनुपर्ने निर्णय गरिएको छ।
बैठकले गैरआवासीय नेपाली संघ, नेपाल रेडक्रस सोसाइटी तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघबीच साझा हितका विषयमा सहकार्यका लागि गरिएको समझदारीपत्र अनुमोदन गरेको छ। नेपाल रेडक्रस सोसाइटीको मनसुन तथा बाढी प्रतिकार्य पहलमा संघको कोषबाट रु. ५ लाख सहयोग उपलब्ध गराउने प्रस्तावसमेत अनुमोदन गरिएको छ। नेपाल चेम्बर अफ कमर्स तथा एजुकेशन कन्सल्टेन्सी एसोसिएसन नेपालसँग गरिएको समझदारीपत्र अनुमोदन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
संघको संलग्नतामा २०७५/०४/२७ मा स्थापना भएको तर पछिल्लो पाँच वर्षयता निष्क्रिय अवस्थामा रहेको उज्यालो फाउन्डेसनलाई विधिवत् रूपमा बन्द वा खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।