बेलायतमा नेपाली सिनेमाको ‘स्क्रिप्ट टु स्क्रिन’ संवाद: निर्देशक निर्माता रामबाबु गुरुङसहित चार अभिनेत्री सहभागी हुने
‘कबड्डी ५’ को बेलायत यात्रासँगै रामबाबु गुरुङ र चार अभिनेत्री एउटै मञ्चमा, सिमित पाहुनाबीच आत्मीय विमर्श हुने
फोकस्टोन — कागजको एउटा पानामा कोरिएको सामान्य विचार कसरी हजारौँ दर्शकको मन छुने चलचित्र बन्छ ? त्यही प्रश्नको उत्तर खोज्न बेलायतको केन्टस्थित समुद्री सहर फोकस्टोनको चेरिटोनमा शनिबार साँझ नेपाली सिनेमाको पर्दापछाडिको कथा खुल्नेछ।
‘नेप्लिज आर्ट्स, साइन्सेज एन्ड लिटरेचर फोरम यूके’ (नास्ल्फ यूके) ले आगामी शनिबार, २८ नोभेम्बर २०२६ मा ‘नेपाली सिनेमा : फ्रम स्क्रिप्ट टु स्क्रिन’ शीर्षकमा विशेष अन्तर्क्रिया आयोजना गर्न लागेको हो। अल्डरसट, लन्डन (ह्यारो), आसफोर्ड, रिडिङलगायत सहरमा ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन र प्रिमियर अत्यन्तै भब्य सफलताका साथ चलिरहेका बेला निर्देशकसहितको टोलीसँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा यो कार्यक्रम जुराइएको हो।
फोकस्टोनको चेरिटन रोडस्थित ‘थ्री हिल्स स्पोर्ट्स पार्क’ मा साँझ ६ बजेदेखि राति १० बजेसम्म चल्ने कार्यक्रमको मुख्य आकर्षण निर्देशक तथा लेखक रामबाबु गुरुङ हुनेछन्।
गुरुङको सिनेमा यात्रा
गाउँको माटो, त्यहीँको बोली र सूक्ष्म हास्यलाई पर्दामा उतार्न माहिर मानिने गुरुङले ‘अनागरिक’ बाट यात्रा थालेर ‘कबड्डी’ श्रीङ्खलामार्फत नेपाली सिनेमामा नयाँ मानक स्थापित गरेका हुन्। ‘पुरानो डुङ्गा’ र ‘डिग्री माइला’ जस्ता चलचित्रले उनलाई ग्रामीण कथालाई मूलधारमा ल्याउने निर्देशकका रूपमा स्थापित गरेका छन्।
कार्यक्रममा गुरुङले स्क्रिप्ट लेखनको पहिलो ड्राफ्टदेखि छायांकन, सम्पादन र दर्शकसम्म पुग्दाका सिर्जनात्मक र प्राविधिक भोगाइ साट्नेछन्। एउटा पात्र कसरी जन्मिन्छ, लोकेशन कसरी छानिन्छ र हास्य कसरी स्वाभाविक बन्छ भन्नेबारे उनी खुल्नेछन्।
चार अभिनेत्री, चार अनुभव
विमर्शमा गुरुङसँगै रङ्गमञ्चदेखि रजतपटसम्मका चार सशक्त अभिनेत्री एउटै मञ्चमा देखिनेछन्।
सिर्जना सुब्बा — ‘डाइङ क्यान्डल’ बाट राष्ट्रिय चलचित्र पुरस्कार जितेकी बेलायतवासी अभिनेत्री। ‘लुट’, ‘कबड्डी कबड्डी’ र पछिल्लो ‘अञ्जिला’ मा जीवन्त अभिनय गरेकी उनले मण्डला थिएटरमा ‘युमा’ नाटकको निर्देशन र अभिनयसमेत गरेकी छिन्।
पशुपति राई — आरोहण गुरुकुलकी वरिष्ठ रङ्गकर्मी। २५ भन्दा बढी नाटक र एक हजारभन्दा बढी सडक नाटकमा अभिनय गरेकी उनी टोरन्टो र बुसान महोत्सवमा छनोट भएको ‘गाउँ आएको बाटो’ की मुख्य कलाकार हुन्। ‘कबड्डी ४’ र ‘फूलबारी’ मा सहायक निर्देशकको भूमिका निर्वाह गरेकी राईले अभिनय र निर्देशन दुवैतिरका अनुभव सुनाउनेछिन्।
रिश्मा गुरुङ — ‘कबड्डी’ शृङ्खलाकी ‘मैयाँ’। पोखरामा जन्मिएर गुरुङ भाषाका चलचित्र हुँदै मूलधारमा आएकी उनले ‘झुम्की’ का लागि थारु भाषासमेत सिकेकी थिइन्। ‘कबड्डी ५’ मा पनि उनी मुख्य भूमिकामा छिन्।
सिर्जना गुरुङ (लन्डन) — ‘मिस यूके नेपाल २०१७’ की विजेता। लन्डन ओलम्पिक २०१२ को समापन समारोहमा प्रस्तुति दिएकी उनले बायोमेडिकल साइन्समा स्नातक गरी एक दशकभन्दा लामो समय क्लिनिकल रिसर्चमा बिताएकी छिन्। ‘कबड्डी ५’ मा काजीकी श्रीमतीको भूमिकाबाट उनी नेपाली चलचित्रमा डेब्यू गर्दै छिन्।
टक शोको सहजीकरण बेलायतमै रहेका लेखक तथा निर्देशक दीपेन थुलुङ र निर्माता पदम सुब्बाले गर्नेछन्।
सिमित सिट मात्र, यस्तो छ तालिका
कार्यक्रम संयोजक डा. महा राईका अनुसार ठूलो भीड होइन, वक्ता र दर्शकबीच आत्मीय संवाद होस् भन्ने उद्देश्यले सिमित पाहुनाका लागि मात्र सिट सीमित गरिएको छ। कार्यक्रम व्यवस्थापनमा भिम राई र डा. महा राई लगायत अन्य रहेका छन्।
साँझ ६ बजे अतिथि आगमनपछि ६:३० बजे क्यानापेज र हल्का खाजा, ७:०५ बजे मुख्य टक शो, ८:१५ बजे गउरमेट बुफे डिनर तथा नेटवर्किङ हुनेछ। कार्यक्रम राति १० बजे समापन हुनेछ।
रात्रिभोजसहित २० पाउन्ड मात्र प्रवेश शुल्क तोकिएको छ। सहभागी हुन अग्रिम बुकिङ अनिवार्य छ। इच्छुकले इभेन्टब्राइट, आयोजकको वेबसाइट (naslf-uk. org) वा ०७७ ३३ ४५५३ २० मार्फत सिट सुरक्षित गर्न सक्नेछन्। कार्यक्रमको तस्बिर सन्देश साम्पाङ (सन्देश साम्पाङ फोटोग्राफी) ले खिच्नेछन्। आयोजकले अग्रिम बुकिङ् अनिबार्य रहेकाले अनलाईन वा फोन गरेर अनिबार्य सिट सुरक्षित गर्न अनुरोध गरेका छन् । खाना र आवश्यक ब्यबस्थापनको निमित्त अग्रिम बुकिङ् अनिबार्य गरिएको हो ।
बेलायतमा नेपाली कला, विज्ञान र साहित्यको प्रवर्द्धनमा सक्रिय फोरमले यसअघि वरिष्ठ कलाकार नीर शाह, निर्देशक दीपेन्द्र लामा, गायक गङ्गा राज राई तथा अभिनेत्रीद्वय सिर्जना सुब्बा र पशुपति राईसँग विशेष कार्यक्रम आयोजना गरिसकेको छ।
-भुमिराज राई




