मुख्य समाचार

नेपालगञ्जका दम्पत्तिले गरे सबै सम्पत्ति अस्पताललाई दान

नेपालगन्ज । आत्मसन्तुष्टिका लागि केसम्म गर्दैनन् मानिसहरू ? कोही मठमन्दिर पुग्छन् त कोही ध्यानकेन्द्र धाउँछन्।

कोहीचाहिँ बिलासी गाडी किन्छन्, भव्य महल बनाउँछन्। नेपालगन्जको एक वृद्ध दम्पतीले भने भएजति जायजेथा अस्पताललाई दान गरेको छ।

उनीहरूले दान गरेको सम्पत्तिको मूल्य चलनचल्तीमा एक अर्ब रुपैयाँभन्दा बढीको छ। नेपालगन्जका ९३ वर्षीय श्रीजंग शाह र पत्नी ९० वर्षीया रुद्रकुमारी शाहले काठमाडौं, कान्तिपथमा रहेको दुईतले घर र तीन रोपनी तीन आना जग्गा नेपालगन्ज फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई दिएका हुन्।

शाह ३० वर्षदेखि आँखा अस्पतालका संरक्षक छन्। उनले पत्नीको सहमतिमै मरणोपरान्त अस्पतालका नाममा जाने गरी जग्गा दान गरेको बताए । शाहका बुवाआमा उक्त अस्पतालका संस्थापक हुन्।

उनका पिता फत्तेजंग शाह र आम बालदिव्येश्वरी शाहले ०४३ मा नेपालगन्ज फुल्टेक्रास्थित घर र एक बिघा जग्गा दान गरेका थिए। उनीहरूकै नाममा आँखा अस्पतालको नामकरण गरिएको हो। हाल अस्पतालले साढे चार बिघा जग्गा जोडिसकेको छ। १० शय्याबाट सुरु भएको अस्पताल डेढ सय शय्यामा विस्तार भइसकेको छ।
– कान्तिपुर दैनिकबाट ।

About the author
nepalbritain news

nepalbritain news