११ माघ २०८२, आईतवार
Follow Us

काँग्रेस एक ढिक्का बन्नु आवश्यक : वरिष्ठ नेता पौडेल

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७५, बुधबार १४:४९

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस एक ढिक्का बन्नु आवश्यक भएको बताउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित संघको ४ नं प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र बलियो हुन काँग्रेस बलियो बन्नु आवश्यक भएको बताउनुभयो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमले वर्तमान सरकार तानाशाहतर्फ अगाडि बढ्ने संकेत देखिएको बताउँदै उहाँले बजेट स्थानीयता र संघीयतालाई अलमल पार्ने तवरबाट आएको विचार व्यक्त गर्नुभयो ।

कम्युनिष्टहरू पहिलेदेखि नै संसदीय प्रणालीको विरोधी भएको बताउँदै उहाँले सरकारमा दुई तिहाइ मत जुटाउनुले उनीहरू संविधान संशोधन गरी तानाशाहतर्फ अगाडि बढ्न सक्ने संकेत देखाएको धारणा राख्नुभयो ।

पार्टीलाई एकलौटी रुपमा अगाडि बढाउँदा पार्टीभित्रका इमान्दार कार्यकर्ताले न्याय नपाएको बताउँदै उहाँले पार्टीमा न्याय, पारदर्शिता, निष्पक्षता र मूल्याङ्कन हुन जरुरी भएकामा जोड दिनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले नेपाली काँग्रेसमा देखिएको गुटबन्दीका कारण पार्टी नाजुक अवस्थामा पुगेको धारणा राख्नुभयो । “लोकतन्त्रलाई यहाँसम्म ल्याउन काँग्रेसको योगदान अत्यन्तै ठूलो छ,” उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन अहिलेको चुनौतीको विषय बनेको छ, संविधान कार्यान्वयन गर्न धेरै अप्ठेरा छन्, संविधान कार्यान्वयन गर्दै लोकतन्त्रको रक्षा गर्न काँग्रेस एक ढिक्का हुन जरुरी छ ।”

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय समितिका अध्यक्ष जगत तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पु¥याएका सेवा निवृत्त एक दर्जन प्राध्यापकलाई सम्मान गरिएको थियो ।

धेरै पढिएको