मुख्य समाचार

द्वन्द्वका मुद्दा टुंग्याउन प्रचण्डले दिन थाले ओलीलाई दवाव

काठमाडौँ — द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।

सत्यनिरूपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै दाहालले प्रधानमन्त्रीलाई आन्तरिक रूपमै टुंग्याउन आग्रह गरेका हुन् ।

केही दिनयता दाहाल र ओलीबीचको मनमुटाब सतहमा देखिएको छ । यही सन्दर्भमा उनीहरूबीच शनिबार बिहान छलफलसमेत भएको थियो । छलफलमा दाहालले सत्यनिरूपणको विषयलाई सरकार, सदन र राजनीतिक दल मिलेर टुंग्याउने मर्म बुझेर काम अघि बढाउनुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।

‘शान्ति प्रक्रियाका विषयलाई गिजोल्ने प्रयास भइरहेको छ, यो हामी आफैंले टुंग्याउने विषय भएकाले गम्भीरतापूर्वक काम गरौं भन्ने धारणा प्रधानमन्त्रीसँग राख्नुभएको छ,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘प्रधानमन्त्री पनि यो विषय लम्ब्याउनु हुन्न भन्ने पक्षमा हुनुहुन्छ । यससम्बन्धी काम छिटो अघि बढ्छ भन्ने प्रतिबद्धता गर्नुभएको छ ।’कान्तिपुर दैनिकमा खबर छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्