पर्यटन विकासमा छुट्याइएको ६३ लाखले मासु र रक्सी
धरान – धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्। धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन्। उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन।
पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ। पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए। तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ।
पर्यटन विकासलाई भनेर धरान उपमहानगरले चालु आर्थिक वर्षका लागि एक करोड रुपैयाँ छुट्याएको थियो। छुट्याइएको मध्ये ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च भइसकेको छ। तर पर्यटन शीर्षकमा अहिलेसम्म तीन लाख पाँच हजार रुपैयाँको मात्रै विभिन्न संघ संस्थासंग सम्झौता गरिएको हो। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अन्य रकम आफू खुसी पाटी र भोजको आयोजना गरेर पर्यटन विकासको बजेट स्वाहा बनाइएको स्रोतले बतायो। अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

