ताजा खबर

९५ जनालाई २२ दिने रोजगार

बागलुङ– जिल्लाको ताराखोला गाउँपालिकाका ९५ जना युवाहरुले सोमबार एकसैसाथ रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले उनीहरुलाई रोजगारी दिएको हो । सोमबार एक समारोहको आयोजना गरी गाउँपालिकाले सडक मर्मत कार्यमा खटाउने गरी रोजगारी दिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । उनीहरुले २२ दिनका लागि काम पाएका हुन् । गाउँपालिकाले खटाएको सडकको मर्मतका लागि खटिनुपर्ने गरी उनीहरुलाई काम दिईएको हो । पारिश्रमिकमा आधारित अल्पकालिन रोजगार कार्यक्रमअन्र्तगत उनीहरुलाई काम दिईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा रहेका पाँच वटा वडामा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर वेरोजगारको तथ्याङ्क संकलन गरी रोजगारी दिन थालेको हो । ताराखोला गाउँपालिकामा मात्र आठ सय जना वेरोजगार सूचीकृत भएकाका थिए । सूचीकृत भएकामध्ये बिभिन्न आधार बनाएर छनौट गर्ने क्रममा २८ जना महिला ६७ जना पुरुष पुर्ण बेरोजगार रहेको पाईएपछि रोजगारीमा संलग्न गराईएको हो । अन्य बेरोजगारलाई समेत आवश्यकताका आधारमा परिचालन गर्नेगरी पहिलो चरणमा उनीहरुलाई रोजगारी प्रदान गरेको ताराखोला गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताईन् । जिल्लामै पहिलोपटक ताराखोला गाउँपालिकामा बेरोजगारीलाई रोजगारी प्रदान गरिएको हो ।

कार्यक्रममा रोजगारी पाएका युवाहरुलाई ४ लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा सामग्री समेत प्रदान गरिएको छ । उनीहरुले पोषाक, गैची, बेल्चा, घन, बाउँसो, हँसिया जस्ता आवश्यक औजार पाएका छन् । ‘कामको आधारमा हुने भेदभावको अन्त्य गरौं’ भन्ने नाराका साथ ५ वटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ,’ रोजगार संयोजक थापाले भनिन् ‘छोटो समयलाई भएपनि रोजगारी प्रदान गर्न सफल भएका छौंं ।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्नका गाउँपालिकामा रु. २१ लाख बजेटले विनियोजन गरेको छ ।
जनमञ्च

About the author
nepalbritain news

nepalbritain news