मुख्य समाचार

तरुण दलमा पौडेल पक्षले समानान्तर कमिटी बनाउने

काठमाडौं । नेपाल तरुण दल असन्तुष्ट पक्षले यही कात्तिक २७ देखि २९ गतेसम्म हुने महाधिवेशन विधानसम्मत गर्न माग गरेको छ । असन्तुष्ट पक्षले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा तरुण नेता रमेश खरेलले ७५ वटै जिल्लाको अधिवेशन विधिसम्मत् ढङ्गले सम्पन्न गरेर मात्रै महाधिवेशनमा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महाधिवेशन पाँच पटक मिति तोक्दै स्थवगन गर्ने काम गरिएको छ, एकलौटि ढङ्गले महाधिवेशन गर्ने चेष्टा गरिए हामी कुनै हालतमा मान्दैनौँ, समानान्तर समिति गठन गरी अगाडि बढ्छौँ ।”

विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरुलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेको भनी आपत्ति जनाउनुभयो ।

दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दल अहिले पनि जनताको आस्थाको केन्द्र भएको जनाउँदै एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले सङ्गठनलाई दीर्घकालीन असर पर्ने बताउनुभयो ।

तरुण नेत्री लक्ष्मी खतिवडाले आफूहरु विधिवत् महाधिवेशनका पक्षमा रहेको बताउँदै विधि र प्रक्रियालाई मिचेर संस्थापन पक्ष एकलौटि ढङ्गले अघि बढे सशक्त प्रतिकार गरिने चेतावनी दिनुभयो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्