३ आश्विन २०८२, शुक्रबार
Follow Us

१५ दिनभित्र कर नबुझाए एनसेललाई कारबाही गरिने

नेपालब्रिटेन संवाददाता
७ पुष २०७६, सोमबार १४:४८

काठमाडौं । बारम्बार कर बुझाउन अटेर गर्दै आएको निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेललाई सरकारले चेतावनीपूर्ण पत्र काटेको छ । बाह्रौं पटकको बिक्रीमा ठूला करदाता कार्यालयले निर्धारण गरको पूँजीगत लाभांश कर नबुझाएपछि सरकारले एनसेललाई चेतावनीपूर्ण पत्र काटेको हो ।

१५ दिनभित्र कर बुझाउन ताकेता गर्दै नबुझाए कारबाही प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख गरिएको छ । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिसकेको छ ।

१५ दिनभित्र नबुझाए आयकर ऐन, २०५८ को दफा १०४ देखि १०९ मा व्यवस्था गरिए बमोजिम कारबाहीका लागि बाध्य हुने पनि पत्रमा उल्लेख गरिएको छ । ऐनको यी २ दफामा कर असुल हुन नसके कारोबार रोक्का गर्ने, आयात–निर्यात गर्न नदिने र सम्पत्ति जफत गर्नेसम्मको अधिकारको व्यवस्था गरिएको छ ।

ठूला करदाता कार्यालयले एनसेललाई कर तिर्न १५ दिनको समय दिएर गत मंसिर २० मा पत्राचार गरेको थियो । उक्त पत्रमा दिइएको म्याद गत शुक्रबार सकिएको छ ।

धेरै पढिएको