काठमाडौं । कोराना भाइरसको संक्रमणबाट विश्वभरिमा १५ सयभन्दा बढी नेपाली प्रभावित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले बताएका छन् । नयाँपत्रिका दैनिकमा अन्तर्वार्ता दिँदै अध्यक्ष पन्तले उक्त कुरा बताएका हुन् ।
अन्तवार्तामा अध्यक्ष पन्तले भनेका छन्, विश्वभर कति नेपाली कोरोना भाइरसबाट संक्रमित भएका त्यसको ठ्याक्कै तथ्यांक त हामीसँग पनि छैन । तर, हाम्रो अनुमानमा विश्वभर करिब १५ सयभन्दा बढी संक्रमित हुन सक्छन् । यसमध्ये सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा छ । त्यहाँ सात–आठ सय नेपाली संक्रमित भएको अनुमान गरेका छौं । त्यसपछिको ठूलो संख्या स्पेनमा छ । त्यहाँ करिब दुई सय नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
महामारी फैलिन नदिन एनआरएनएले नेपालमा के गर्दैछ भन्ने प्रश्नको जवाफमा अध्यक्ष पन्तले भने, हामीले एक करोड ६४ लाखबराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्दै छौं । त्यसमध्ये दक्षिण कोरियाबाट खरिद गरिएको आधा रकम जतिको सामग्री हिजो बुधबार (२६ चैत) नेपाल गइसकेको छ । चीनबाट खरिद गरिएको बाँकी स्वास्थ्य उपकरणहरू पनि यसै हप्ता नेपाल पुगिसकेको हुनेछ ।
यसबाहेक राहतका लागि अरू कुनै काम हुँदै भन्ने प्रश्नको जवाफमा अध्यक्ष पन्तले भने, खाडी राष्ट्रमा भएका श्रमिक साथीहरू, युरोप–अमेरिकालगायत विश्वभर रहनुभएका भाइबहिनीहरू एकातिर रोजगारी गुमेकाले अप्ठ्यारो स्थितिमा हुनुहुन्छ । अन्य मुलुकमा होटेल, रेस्टुरेन्ट, व्यापार–व्यवसाय गरेर बस्नुभएका साथीहरू पनि उत्तिकै कठिन स्थितिमा हुनुहुन्छ । युरोप–अमेरिकालगायतका देशका सरकारहरूले कम ब्याजदरमा ऋण, निब्र्याजी ऋणसमेत प्रदान गर्ने योजना ल्याएका छन् । कतिपय नेपाली व्यवसायी साथीहरूलाई यस्तो राहत प्राप्त गर्ने विधिबारे जानकारी नहुन सक्छ । त्यो राहत कसरी लिने भन्नेबारेमा समेत हामीले जानकारी गराउँदै छौैं ।