राष्ट्रिय एकता अपरिहार्य रहेको पूर्वराजाको सन्देश
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणको संकटको घडीमा राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । नयाँ वर्ष २०७७ को पूर्वसन्ध्यामा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले संकटको समयमा देश र आफुलाई सुरक्षित राख्न सबैले सजगता अपनाउनुपर्ने बताएका हुन् ।
विज्ञप्तिमा पूर्वराजाले नेपाली जनता खुसी र सुखी रहून र देशको शिर सगरमाथा झै उच्च रहोस भन्ने आफ्नो अटल चाहाना रहेको उल्लेख गरेका छन् । उनले आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र जनताप्रति पर्नसक्ने विभिन्न खतराहरु टार्न आफुले हरसम्भव प्रयास गरेको स्मरण गराएका छन् ।
पूर्वराजाले विद्यमान संकटवाट मुक्ति र भविश्यमा उत्पन्न हुने अस्वभाविक चुुनौतीहरुको सामना गर्न नेपाली विचको एकताको आवश्यकता औल्याएका छन् ।
निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकताको प्रवलिकरणको मार्ग स्पष्ट गर्न नसके त्यो महाभुल हुने पूर्वराजाको भनाइ छ । शुभकामना सन्देशमा मानवीय र प्राकृतिक विपतिको अन्त्य गर्दै नूतन इतिहास रच्ने सफलता नयाँबर्षमा प्राप्त होस भन्ने कामना समेत गरिएको छ ।

