सांसद यादवको अपहरण जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता
काठमाडौं । सांसद डाक्टर सुरेन्द्र यादवले दिएको अपहरणको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आज दर्ता गरेको छ । मंगलवार नै यादवले कार्यालयमा उजुरी दर्ता गर्न खोजेको भए पनि अध्ययनका लागि भन्दै कार्यालयले समय माग गरेको थियो ।
कार्यालयले आज उजुरी दर्ता भएको जानकारी गराएको सांसद डाक्टर यादवले जानकारी दिए । दर्तासँगै छानविन प्रक्रिया पनि अघि बढाइएको कार्यालयले जनाएको छ । उजुरीमा सांसद यादबले आफुलाई नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै कारवाहीको माग गरेका छन् ।
यसअघि महानगरीय प्रहरी परिसर टेकुले पनि उजुरी दर्ता गर्न मानेको थिएन । उसले घटना महोत्तरी जिल्लामा भएको भन्दै उजुरी पनि उही दर्ता गर्नुपर्ने अडान राखेको थियो । काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व प्रहरी प्रमुख खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

