११ बैशाख २०८१, मंगलवार
Follow Us

संघलाई नेपाली समुदायको राष्ट्र संघको मोडेलमा लग्नु पर्छ: शेष घले

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७८, मंगलवार १२:५५

लण्डन । गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. घलेले गैर आवासीय नेपाली संघलाई नेपाली समुदायको संयुक्त राष्ट्र संघको मोडेलमा लग्नु पर्ने सुझाव दिएका छन्।

आइतबार एनआरएनए युकेको अल्डरशटस्थित नयां कार्यालयको उद्घाटन पछि बोल्दै उनले भने, ‘अमेरिका, युके, अस्ट्रेलिया र जापान संघका चार ओटा पिलरहरु हुन्। यो एउटा संस्था मात्रै होइन, एउटा संजाल हो। यसमा आइसीसीले एनसीसीहरुसंग समझदारीपत्रमा हस्ताक्षर गर्नु पर्छ र त्यस्तो समझदारी पत्र फरक फरक पनि हुन सक्छ। उनले एनआरएनएलाई लाईफ टायम मेम्बरसीपको मोडालिटीमा अघि बढाउनु पर्ने सुझाव पनि दिए ।

कार्यक्रममा नेपाली दूतावासकी उप नियोग प्रमुख श्रीमती रोशन खनालले बेलायतस्थित नेपाली दुतावासले एनआरएनए युकेसँग मिलेर काम गरिरहेको जनाइन् । उनले एनआरएनएले नागरिकता निरन्तरता लागु गर्न नेपाल सरकारसँग थप छलफल गरी बुझाउनु पर्ने बताइन् ।

त्यस्तै सो समारोहमा भाग लिन अमेरिकाबाट आएका एनसीसी अमेरिकाका पूर्व अध्यक्ष डा केशब पौडेलले एनसीसीहरुलाइ स्वतन्त्र र स्वायत्त बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए युकेका पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, संघको केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन, कोषाध्यक्ष पदका उम्मेदवार राजन त्रिपाठी, सह कोषाध्यक्ष पदका उम्मेदवार ललित न्यौपाने, युरोप क्षेत्रीय संयोजक पदका उम्मेदवार सन्तोष भट्टराई, युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार दयानिधि सापकोटा, पत्रकार भगीरथ योगी लगायतका वक्ताले एनआरएनए युकेले कार्यालय स्थापना गरेकोमा बधाई र शुभ कामना व्यक्त गरेका थिए।

कार्यक्रमका सभापति तथा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले नयाँ कार्यालयको उद्घाटन पछि कार्यालयको काम व्यवस्थित र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे । ‘एनआरएन डे’ को अवसर पारेर आयोजित समारोहमा प्रमुख अतिथि घलेले केक काटेर खुसियाली मनाएका थिए।