२२ बैशाख २०८१, शनिबार
Follow Us

मर्यादाभित्र रहन हिराचनलाई एनआरएनए अध्यक्ष पन्तको चेतावनी

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७८, मंगलवार १६:४९

लण्डन । आफ्नो कार्यक्षेत्र नाघेर गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समिति बिगठन गर्ने पूर्वअध्यक्ष देवमान हिराचनलाई संस्थागत मर्यादामा रहन चेतावनी दिइएको छ ।
हिराचनलाई संघका अध्यक्ष कुमार पन्तले मंगलवार एक पत्र देख्दै सो चेतावली दिएका हुन् ।

पत्रमा सहमति र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य हुने उल्लेख गरिएको छ ।
पन्तले राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्चस्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।
पन्तले आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको जनाएका छन् ।

उनले अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको अवस्थामा निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध समेत गरेका छन् ।

हिराचनले संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित विघठित उच्च्स्तरीय समितिको निर्णय भन्दै ८ बुँदे पत्र जारी गरेका थिए । सो समितिमा संघका पूर्वअध्यक्ष शेष घले थिए । विवाद मिलाउन जिम्मा लिएका घलेद्धारा गठित कार्यदलको प्रतिवेदन आफु अनुकुल नभएको र उच्चस्तरीय समितिको महाधिवेशन विवाद मिलाउन जारी गरिएको पत्रलाई ८ राष्ट्रिय समितिले अस्वीकार गरे पछि उनी सो समितिबाट पछि हटेका थिए ।

पत्रको पूर्णपाठ

श्री देवमान हिराचन, संरक्षक, गैरआवासीय नेपाली संघ

बोधार्थः
श्री शिव प्रसाद पौडेल, अध्यक्ष, राष्ट्रिय समन्वय परिषद् जापान
श्री अम्बिका जोशी, कार्यबाहक राजदुत, नेपाली राजदुतावास, टोकियो

बिषयः राष्ट्रिय समन्वय परिषद् जापान भङ्ग गर्ने कथित बक्तव्य बारे ध्यानाकर्षण ।

महोदय,
उपर्युक्त सम्बन्धमा तपाईले मिति २०२२ फेब्रुअरी १५ तारिखमा उच्चस्तरीय समितिको नाममा राष्ट्रिय समन्वय परिषद् (एनसिसि) जापान भङ्ग गरिएको भनी जारी बक्तव्य प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
एनसिसि जापानका सम्बन्ध उचित निकास निकाल्नका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसि) को ८१ आंै बैठकले निवर्तमान अध्यक्ष भवन भट्टलाई जिम्मेबारी दिएको र उहाँले सबै पक्षसँग परामर्श गर्ने क्रममा रहनु भएको तपाईलाई जानकारी छ ।

उहाँले यथाशिघ्र समाधान निकाल्नु हुनेमा हामी विस्वस्त छौ । उच्चस्तरीय समितिलाई एनसिसि जापानका सम्बन्धमा काम गर्ने कार्यक्षेत्र तोकिएको छैन ।

बक्तव्यमा हबला दिए जस्तो उच्चस्तरीय समितिमा एनसिसि जापान भङ्ग गर्ने बारे कुनै पनि छलफल र निर्णय नभएको तपाई स्वयं जानकार हुँदा हुदै यस्तो भ्रमपूर्ण बक्तव्य जारी गर्नु भएकोमा म आश्चर्य चकित भएको छु ।

आइसिसिको तर्फबाट १० औ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिलाई पठाए सकेको छु र अहिले निर्वाचन समितिले प्रकृया अगाडि बढाई सकेको छ ।

अतः यस्ता गतिविधिहरु गरी निर्वाचनको वातावरण नधमिलाउनको लागि अनुरोध गर्दछु ।

उच्चस्तरीय समितिले आइसिसिलाई सुझाव दिन सक्छ तर यस समितिले परिषदको कार्यकारी अधिकार प्रयोग गर्न सक्दैन् । राष्ट्रिय समन्वय परिषद भङ्ग गर्ने अधिकार उच्च स्तरीय समितिलाई नभएकोले शिव प्रसाद पौडेलको नेतृत्वमा रहेको हालको राष्ट्रिय समन्वय परिषदलाई नियमित कामकारवाही अगाडि बढाउनुको लागि म अनुरोध गर्दछु ।

संरक्षकको हैसियतले तपाईले सबै पक्ष बिच सहमती र सहकार्यको वातावरण तयार गर्नुको सट्टा विधानलाई आफ्नो हातमा लिएर गरेका भ्रमपूर्ण गतिविधि आइसिसिलाई अस्वीकार्य छ ।

संरक्षकको मर्यादा भित्र रहेर यस्ता गतिविधि तुरुन्त बन्द गर्न म तपाईलाई सचेत गराउँछु ।

कुमार पन्त
अध्यक्ष, गैरआवासीय नेपाली संघ

२०२२ फेब्रुअरी १५