१८ बैशाख २०८१, मंगलवार
Follow Us

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७९, मंगलवार ०४:५३

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्र कुमार खनालले निर्देशन गरेका हुन् । फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो ।

कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ । ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन् ।

विदेशबाट आएको शवलाई गाउँ पु-याउने यात्रा फिल्ममा देखाइने छ । कार्यक्रममा अभिनेत्री खड्काले विभिन्न किसिमका महिलाहरुको परिचय दिने बताइन् । फिल्मको पात्रले महिलाहरूको सबैखाले समस्या देखाउने उनको भनाइ छ ।

त्यस्तै अभिनेता विपिन कार्कीले निर्देशकले नयाँ आयाममा फिल्म बनाएको भन्दै निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे । फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ ।

दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।