१६ असार २०८१, शनिबार
Follow Us

आयल निगमको प्रस्तावः मोटरसाइकललाई ५ र कार, जिपलाई २० लिटर पेट्रोल

नेपालब्रिटेन संवाददाता
२० असार २०७९, सोमबार १४:३१

काठमाडौं । नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्पसहितको सुझाव दिएको छ ।

निगम तेल इन्धन विक्री गर्दा दिनप्रतिदिन घाटामा गइरहेको छ । निगमले अब आफ्नो घाटा थेग्न नसक्ने भएपछि सरकारलाई विभिन्न १० बुँदे विकल्पसहितको सुझाव दिएको हो । नेपाल आयल निगमका प्रवक्ता विनतिमणि उपाध्यायले आज नेपाल आयल निगमले उद्योग मन्त्रालयलाई १० बुँदे सुझाव सहितको पत्र पठाएको बताए । त्यो पत्र प्रधानमन्त्री कार्यालयलाई पनि बोधार्थ गरेर पठाएको जानकारी दिए ।

निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी प्रस्ताव गरेकाे हो ।

त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ ।