१८ असार २०८१, सोमबार
Follow Us

स्थानीय तहबाट निःशुल्क ई–पासपोर्ट भर्ने व्यवस्था

नेपालब्रिटेन संवाददाता
२४ असार २०७९, शुक्रबार ०३:४४

मकवानपुर । मकवानपुरको १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) को निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्नेको भीडभाड बढेको तथा निजीले मनलाग्दी रकम लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहको सहयोग र समन्वयमा स्थानीय तहमा ई–पासपोर्टका लागि निःशुल्क फारम भर्ने व्यवस्था मिलाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

जिप्रका मकवानपुरमा पत्रकार सम्मेलन गर्दै उहाँले अब जिल्लाको स्थानीय तहबाट निःशुल्क रुपमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने बताउनुभयो ।

उहाँले जिल्लामा ई –पासपोर्ट को लागि दैनिक ९० र सातामा ५४० जनाले फारम भर्न सकिने बताउँदै समयमा स्थानीय तहमा कार्यालयमा पुगेर फारम भर्न सकिने जानकारी दिनुभयो ।

असार २१ गते जिल्लाको १० वटै स्थानीय तहमा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसँगको बैठकमा स्थानीय तहमा ई–पासपोर्टका लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउनका लागि वातावरण मिलाइएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा ई–पासपोर्ट र परिचयपत्र बनाउनेको भीड लागि रहेकाले सो समस्या समाधानका लागि स्थानीय तहबाट ई–पासपोर्टको फारम भर्ने व्यवस्था मिलाइएको बताइएको छ । इन्टरनेटको व्यवस्था भएकाले अब घरबाट फारम भर्न सकिने उहाँले बताउनुभयो ।